काठमाडौं, ४ पुस । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरे पनि उनी आज थुनामुक्त हुने भएका छन्। उच्च अदालतका अनुसार रविको आदेशसहितको सक्कल मिसिल शुक्रबार मात्रै रुपन्देही जिल्ला अदालत पुग्नेछ।
त्यसपछि जिल्ला अदालतले रविलाई बिगो बराबरको रकम २ करोड ८४ लाख ७४ हजार रुपैयाँ वा बैंक ग्यारेन्टी बुझाउन पत्र पठाउनेछ। हाल रवि ललितपुरको नख्खु कारागारमा थुनामा छन्। उक्त पत्र रविले बुझेपछि रिहाइको प्रक्रिया सुरु हुन्छ। लामिछानेले यो प्रक्रिया छिटो गर्न चाहेमा उच्च अदालतको आदेश लिएर जिल्ला अदालत रुपन्देहीमा आफैं उपस्थित हुन सक्नेछन्।
लामिछानेले कानुनबमोजिम ठहर हुन आएमा थप रकम बुझाउन मन्जुर छु भन्ने मन्जुरिनामा जिल्ला अदालतमा दिनुपर्नेछ। उच्च अदालतको बिहीबारको पाँचवटा सर्तमध्ये एउटा सर्त थप रकम बुझाउन मन्जुर छु भनी जिल्ला अदालतमा स्वीकार गर्नुपर्ने हो। सोही कारण उनी रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। यसका लागि अदालतले सुरक्षासँग समन्वय गर्नेछ। यी सबै प्रक्रिया पूरा भएपछि सम्भवतः रवि आज थुनामुक्त हुन सक्नेछन्।
