काठमाडौं, ४ पुस ।नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै ६ दिनपछि सम्पन्न भएको छ । महाधिवेशनमार्फत अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकाल (५ वर्ष) का लागि निर्वाचित भएका हुन् ।
ओलीसँग नेता ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ओली र पोखरेल दुवै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
२ हजार २६३ मतदाताले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति छनोट गर्दा अध्यक्ष पदमा ओली १ हजार ६६३ मतसहित निर्वाचित हुँदा पोखरेलले ५६४ मतमात्र ल्याउन सफल भए । त्यस्तै शंकर पोखरेल एमाले महासचिवमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरेलसँग सुरेन्द्र पाण्डेले महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए । पोखरेल १२ सय २८ मतसहित महासचिव पदमा निर्वाचित हुँदा पाण्डे ९९९ मतमा सीमित बने ।
१९ सदस्यीय पदाधिकारीमा पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईबाहेक सबै पदमा ओली समूह निर्वाचित भयो ।
११ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव : लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई
सचिव : महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल
पदाधिकारीमा गुरुङलाई बढी मत
१९ सदस्यीय पदाधिकारीमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा बढी १ हजार ७३७ मतसहित उपाध्यक्षमा विजयी भएका छन्। पूर्वउपमहासचिव उनले अध्यक्षमा निर्वाचित केपी ओलीले भन्दा ७४ मत बढी पाए। ओलीले १ हजार ६६३ मत पाए। उपाध्यक्षका पाँच पद छन्। अन्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेल १ हजार ६७५, रामबहादुर थापा १ हजार ५१६, गोकर्ण विष्ट (पोखरेल समूह) १ हजार ३६८ र रघुजी पन्त १ हजार २५८ मतसहित निर्वाचित भए। त्यस्तै पदाधिकारीमा पर्ने ९ सचिवमध्ये महेश बस्नेतले सबैभन्दा बढी एक हजार ५४४ मत पाए। केन्द्रीय सदस्य खुलातर्फ प्रदीप ज्ञवाली सर्वाधिक १ हजार ९४२ मतसहित विजयी भए।
