काठमाडौं, ४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह एक्कासि भारत गएका छन् । बुधबार दिउँसो ३ बजेर २५ मिनेटमा उनी झापाको काँकडभिट्टा नाका हुँदै सपरिवार भारततर्फ गएका हुन् । स्रोतका अनुसार ज्ञानेन्द्र परिवारसहित भारतको पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने सिलिगुडी पुगेका थिए ।
सिलिगुडी पुगेपछि पूर्वराजा ज्ञानेन्द्र परिवारसहित त्यहाँस्थित होटल मेरिअटमा बसेको स्रोतले जानकारी दिएको छ। भारत प्रस्थानको विषयमा कुनै औपचारिक कार्यक्रम सार्वजनिक नगरिएको भए पनि उनको भ्रमणलाई लिएर विभिन्न अड्कल सुरु भएको छ। विशेष गरी पछिल्लो समय नेपालमा विकसित राजनैतिक घटनाक्रमसँग उनको भारत भ्रमणलाई जोडेर हेरिएको छ।
विदेश भ्रमण गर्दा वर्तमान भीआईपी पुर्ब भीआईपीहरूले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग भ्रमण स्वीकृत गराई जानुपर्ने भए पनि शाहले त्यो नियम पालना नगरी भारत भ्रमण गएको बुझिएको छ। ज्ञानेन्द्रलाई भारत जाँदा काकडभिट्टा नाकासम्म सशस्त्र प्रहरीले स्कटिङ गरेको थियो।
स्रोतका अनुसार बिहीबार पूर्वराजा ज्ञानेन्द्र सिलिगुडीको एक व्यावसायिक भवनमा परिवारका साथ सपिङका लागि गएका थिए। उनी सामान्य सुरक्षा व्यवस्थाका बीच सार्वजनिक स्थानमा देखिएका थिए। यस क्रममा उनको सुरक्षामा भारतीय सुरक्षा निकायको पनि उपस्थिति रहेको बताइएको छ।
भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले भारतस्थित राष्ट्रिय स्वयंसेवक संघ (आरआरएस) का प्रमुखसँग सिलिगुडीको होटल मेरिअटमै भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उक्त भेटमा नेपालको पछिल्लो राजनैतिक अवस्था, परिवर्तनशील शक्ति सन्तुलन र क्षेत्रीय घटनाक्रमबारे छलफल हुने बताइएको छ। यद्यपि, भेटघाटको समय र औपचारिक एजेन्डाबारे भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
पूर्वराजा ज्ञानेन्द्र भारत गएको विषय झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले पुष्टि गरे। उनले बुधबार पूर्वराजा ज्ञानेन्द्र काँकडभिट्टा नाका हुँदै भारततर्फ गएको र यसबाहेक अन्य विवरण भने आफूलाई जानकारी नभएको बताए। पूर्वराजा ज्ञानेन्द्रको यो निजी भ्रमण हो वा अन्य कुनै औपचारिक कार्यक्रमका लागि हो भन्ने विषयमा प्रहरीसँग थप सूचना नभएको एसपी लिम्बुले बताए।
पछिल्ला दिनमा नेपालमा राजनैतिक अस्थिरता, सरकार परिवर्तनका चर्चा र विभिन्न शक्तिकेन्द्रबीचको गतिविधि बढिरहेका बेला पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनको यो भारत भ्रमणले आगामी दिनमा के सन्देश दिने हो भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ। सशस्त्र प्रहरी बलको २ नम्बर गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले पूर्वराजा भारततर्फ गएका भए पनि काठमाडौं आएको टोलीले नै स्कटिक गरेको बताए।
