काठमाडौं, ५ पुस ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न चेतावनी दिएका छन् । शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले निर्वाचन सारिए र संविधान मिचिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।
प्रचण्डले सरकारलाई निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न आग्रह गर्दै कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्न भनेका छन् । उनले सरकारले संविधान बारम्बार मिच्ने कोसिस गरे (केही हदसम्म मिचिसकेको अवस्थामा पनि) वा निर्वाचनको मिति सारेर यसलाई धकेल्ने काम गरे फेरि संविधान मिचिने र कम्युनिस्ट पार्टी चुप लागेर नबस्ने स्पष्ट पारे ।
उनले भने, ‘हामीले भनेका छौँ, सहज ढङ्गले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौँ, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस (एकचोटी त मिच्चिसकेको छ केही हदसम्म) तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम ग¥यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चूप लागेर बस्ने छैनौँ।’
उनले त्यागको इतिहास र निष्ठा नभएका, अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर हेप्ने दुस्साहस गरेकोमा खबरदार भनेका छन् । उनले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताए ।
संयोजक प्रचण्डले आफ्नो पार्टीले देशलाई सङ्कटबाट बचाउने उद्देश्यका साथ जनयुद्ध र जनआन्दोलनको तागतलाई एकीकृत गरेको बताए । उनले धनगढीदेखि लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमाडौँसम्म देखिएको जनताको विशाल उपस्थितिलाई खेलाँची नठान्न चेतावनी दिए । उनले भने, ‘यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ ।’
प्रचण्डले ६ महिना वा १ वर्ष समय थप्ने हल्ला आएमा देश फेरि दुर्घटनामा पर्ने र अबको दुर्घटनाको बेला नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने बताए । बरु ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलनको, विद्रोहको झण्डा बोकेर सडकमा आउने उनले घोषणा गरे ।
उनले यो शक्तिले नै दुई सय ५० वर्ष पुरानो राजतन्त्रलाई धाराशायी पारेर गणतन्त्र स्थापना गरेको भन्दै यसको तागतलाई खेलाँची नठान्न जोड दिए ।
