काठमाडौं, २२ असोज । बूढानिलकण्ठबाट २१ किलो सुन बरामदसँग दुई चिनिया नागरिक पक्राउ परेका छन् । प्रहरीले विहिबार विहान काठमाडौको बूढानिलकण्ठबाट २१ किलो सुन बरामद गरेपछि त्यसमा संलग्न दुई चिनिया पनि पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार बूढानीलकण्ठमा बरामद गरेको २१ किलो सुनमा चिनियाँ नागरिकको समूहको संलग्नता रहेको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा यसमा तीन जना चिनियाँ नागरिकको संलग्नता खुलेको हो ।
एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका थिए । प्रहरीको टोलीले सुन राखिएको आशंका गरिएको ठाउँमा एक साताभन्दा लामो समयदेखि रेकी गरिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार, सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुधन गुरुङसँग समेत सूचना पुगेको थियो । ‘चीनतर्फबाट आएको यो सुन केही दिनदेखि त्यहीं राखिरहेको आशंका छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘केही व्यक्ति पक्राउ परिसकेका छन्, उनीहरुको बयानबाट समेत थप खुल्ला ।’ हालसम्मको अनुसन्धानमा तीन जना चिनियाँ नागरिकको संलग्न खुलिसकेको छ । नेपाली नगारिकको विस्तृत पृष्ठभूमि र विवरणसमेत प्रहरीले केलाइसकेको स्रोतको दाबी छ ।

यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पारगरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र ६० किलो सुन बरामद भएको थियो । २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो ।

