काठमाडौं, २२ असोज ।
नेकपा एमालेको स्थायी समिति बैठक नेताहरुको मर्यादाक्रमअनुसार संचालन भएको छ । मर्यादाक्रमअनुसार बैठक संचालन हुँदा नेताहरुको आसनलाई लिएर हलचल पैदा हुनेगरी सामाजिक संजालमा टिक्काटिप्पणी भइरहेको छ ।
पूर्व राष्ट्रपतिसमेत रहेकी भण्डारी वरिष्ठ नेताका रुपमा पार्टीमा फर्किएलगत्तै अध्यक्ष ओलीले दायाँतर्फ विद्या भण्डारी र वायाँ तर्फ उपाध्यक्ष रामबहादुर थापा‘बादल’लाई राखेका छन् ।

यसअघि दायाँतर्फ बादलसहित उपाध्यक्षहरु र वायाँतर्फ महासचिव शंकर पोखरेलसहित उपमहासचिव र सचिवहरुलाई राख्ने अभ्यास थियो । तर, यस पटक भने मर्यादाक्रमअनुसार नेताहरुलाई राखेरै बैठक चलाइए पनि पोखरेलको सट्टा वरिष्ठ नेता भण्डारीको पुनरागमनसँगै उनी नै भावी पार्टी अध्यक्षको सन्देश जानेगरी बैठक चलाइएको एक पदाधिकारीले बताए ।
तर, सचिव पद्यमा अर्यालले भने यसअघि मर्यादाक्रमअनुसार नचलेको बैठक यस पटक मर्यादाक्रमअनुसार आसन मिलाएर चलाउँदा अलि फरक सन्देश गएको जस्तो देखिए पनि त्यस्तो कुनै अनौठो मान्नुपर्ने अबस्था नरहेको बताइन् ।

जसअनुसार दायाँतर्फ दोस्रो मर्यादकी भण्डारीपछि वायाँतर्फ तेस्रो मर्यादाका बादल, भण्डारीपछि चौथो मर्यादाका विष्णु पौडेललाई राखिएको छ । आठौं मर्यादामा रहेका महासचिव पोखरेल दायाँतर्फ क्रमश ः भण्डारी, पौडेल र अर्का उपाध्यक्ष गोकर्ण विष्टपछि बसेका छन् । त्यस्तै, वायाँतर्फ बादलपछि उपाध्यक्षद्वय पृथ्बीसुब्बा गुरुङ र रघुजी पन्तपछि लेखराज भट्टसहित क्रमश ः नेताहरु बसेका थिए । स्थायी समितिमा मनोनितमध्ये पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पदाधिकारीहरुभन्दा पछाडिपट्टिको रोमा बसेका थिए ।
१९ पदाधिकारीपछिको २० औं नम्बरको आसनमा ईश्वर बसेका थिए । स्थायी समितिका अरु सदस्यहरु क्रमश ः पूर्वसभामुख देवराज घिमिरे २१ औं आसनमा बसेका थिए भने रो मिलाएर बाँकी ५ सदस्य बसेका थिए ।



