काठमाडौ, ५ पुस । पुर्व राष्ट्रपति विद्या भण्डारीले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सामुहिक नेतृत्व प्रणालीबाट संचालन गर्ने विश्वास व्यक्त गरेकी छिन ।
शनिबार ओलीलाई वधाई दिदै पुर्व राष्ट्रपति भण्डारीले त्यस्तो विश्वास व्यक्त गरेकी हुन ।
के भनिन् भण्डारीले ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास हो ।
तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीज्यू सहित नवनिर्वाचित अन्य पदाधिकारीहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू तथा महाधिवेशन सफल बनाउन अहोरात्र खटिनु भएका स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र कलाकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद । लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ ।
