काठमाडौं, ६ पुस । रुपन्देही जिल्ला अदालतले छविलाल बन्जाडेलाई छाडेको छ । देशभरका ५ वटा सहकारीको वचत रकम अपचलन गरेको आरोप लागेका छविलाल जोशी बन्जाडेलाई पनि उच्च अदालत बुटवलको आदेशबमोजिम रुपन्देही जिल्ला अदालतले धरौटीमा छाडेको हो ।
रविको टिमले अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आगामी साथ,सहयोग र सहकार्यका बदलामा आफ्नो रिहाइबिरुध्द सरकारी वकिल कार्यालयलाई पुनरावेदनको निम्ति सर्वोच्च अदालत जान नदिन मनोबैज्ञानिक दवाव दिइरहेकै बेला पूर्व डिआइजीसमेत रहेका छविलाई पौने ९ बजे राती भैरहवा जिल्ला कारागारबाट बुद्ध एयरको उडानबाट काठमाण्डौ ल्याइएको छ । सहकारी ठगीको मुद्दामा ’अग्रिम जमानत’ तिरेर जेलबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज साँझ उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री भेट्न पत्नी निकिता पौडेलसहित रवि साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी भएको बताइएको छ । शुरुमा रविले पत्नी निकितालाई मात्रै राखेर भेटवार्ता गरेकोमा पछि उपसभापति डोलप्रसाद (डिपी) अर्याल,डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी,नेता शिशिर खनाल र सोविता गौतम पनि सामेल भएका थिए । उनीहरू लामिछाने दम्पती पुगेको करिब आधा घण्टापछि बालुवाटार पुगेको स्रोतले बताएको छ।
सर्वोच्च अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुर,बुटवल इजलासले शुक्रबार रविलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालती प्रक्रिया पूरा गरेर हिजो थुनामुक्त भएका उनी राजनीतिक गतिविधिमा सहभागी भैसकेका छन् । हिजै आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर ’समय आएपछि सबैको हिसाब गर्ने’ भन्दै चर्को भाषण गरेका उनले बेलुका जेनजी आन्दोलनका शहीद परिवारलाई भेटेर फोटो खिचाएका थिए ।
उपल्लो अदालतको आदेश तल्लो अदालतले उल्ट्याएका कारण पक्राउ परेको ९ महिनापछि थुनामुक्त भएका उनलाई रास्वपाले आज पार्टी मुख्यालयमा बाजागाजासहित स्वगत गरेको थियो । लगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उनले त्यहाँ समसामयिक राजनीतिक कुराकानी गरेको जनाइएको छ ।
