जनकपुरधाम, ६ पुष ।
मधेस प्रदेश सभामुखमा शिक्षकदेखि पत्रकारितासम्मको यात्रा तय गरेपछि राजनीतिमा होमिएका थिए । जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादव सभामुखमा निर्वाचित भएपछि उनको यात्राको बारेमा चर्चा परिचर्चा शुरु भएको हो ।
सभामुख निर्वाचित यादव यादव धनुषा क्षेत्र नम्बर २ (ख)बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन । उनले प्रदेशसभामा जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।
यादवको जन्म २०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७, साविक कनकपट्टी गाविसमा भएको हो । उनी स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा हुन् । कृषक पेसामा संलग्न उनका बुबाका ९ छोरा र १ छोरी थिए ।
स्नातक तहसम्म अध्ययन गरेका रामआशिष यादव २०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बागदेवी माध्यमिक विद्यालय, ज्याम्दीमा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत थिए ।
करिब अढाइ वर्ष शिक्षण पेसामा संलग्न रहेका उनको यात्रा पत्रकारितातर्फ मोडियो । २०५४ सालमा रेडियो नेपालका धनुषा संवाददाताका रूपमा आफ्नो पत्रकारिता यात्रा सुरु गरेका यादव २०६० सालमा पुनः शिक्षण पेसामा फर्किएका थिए । यादव जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा शिक्षक बने ।
सँगसँगै उनले पत्रकारितालाई पनि अघि बढाए । गोरखापत्र राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजन र जनकपुर टुडेलगायतका सञ्चारमाध्यममा काम गरेका यादव जनकपुरधामबाट प्रसारण हुने जनकपुर एफएम, तहल्का नेपाल र जनकपुर टीभीका संस्थापकसमेत हुन् ।
शिक्षक र पत्रकार दुवै क्षेत्रमा सक्रिय यादव २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष निर्वाचित भएका थिए । उनी जनकपुरधामको ऐतिहासिक गंगासागरको कायाकल्प गरी गंगा आरतीको सुरुवात गर्ने अगुवा हुन् ।
फोहोरको डंगुर जमेर दुर्गन्धित बनेको गंगासागरलाई आकर्षक पर्यटकीय स्थल बनाएर २०७१ सालदेखि महागंगा आरतीको सुरुवात यादवले गरेका हुन । यहाँ प्रत्येक साँझ महागंगा आरती हुन्छ । जहाँ पवित्रताको गंगासार बर्सिन्छ । देश तथा विदेशबाट पर्यटक यस आरतीमा सहभागी हुन आउँछन्। अहिले यो जनकपुरधामको मुख्य पर्यटकीय गन्तव्यसमेत बनेको छ ।
महागंगा आरतीको सुरुवातसँगै रामआशिष यादव वातावरण संरक्षण अभियानमा सक्रिय भए । यही अभियानमा क्रियाशील रहँदै उनी २०७४ सालको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभा सभा सदस्यको उम्मेदवार बने । धनुषा–२ (ख) बाट फोरमका तर्फबाट उम्मेदवार बनेका यादव विजयी भए ।
शालिन स्वभाव तथा बौद्धिक व्यक्तित्वको परिचय बनाएका यादव २०७९ सालमा पनि सोही क्षेत्रबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा उम्मेदवार बने र निर्वाचित भए । प्रदेशसभामा उनको मनतव्यलाई अर्थपूर्ण रुपमा सुनिनन्थ्यो । सामाजिक र राजनीतिक मुद्दाहरूलाई तथ्य र तथ्यांकका आधारमा मिहिन विश्लेषणसहित प्रस्तुत गर्ने उनी दुई पटक उत्कृष्ट प्रदेशसभा सदस्यको सम्मान समेत पाएका थिए । २०७९ को निर्वाचनपछि उनी प्रदेशसभामा जसपाको प्रमुख सचेतकको जिम्मेवारी पाएका थिए ।
दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित यादवले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाउँदै आइरहेका छन् । वातावरण संरक्षण र समाजिक सुधारका पक्षमा निरन्तर वकालत गर्दै आएका उनी वातावरण संरक्षण सम्मान, नेपाल स्रष्टा सम्मान तथा भारतको दरभंगाबाट प्रदान गरिएको मिथिला विभूति सम्मानलगायत विभिन्न पुरस्कार तथा सम्मानबाट उनी सम्मानित भएका छन् ।
