काठमाडौं, १० पुस । चर्चित र्यापार तथा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले राजनीतिक दलभित्रका केही व्यक्तिहरुसँग भेटघाट गरेर राजनीतिक परामर्श लिन थालेका छन् । मेयरको समयअवधि दुई वर्ष बाँकी हुँदा नै उनले राजिनामा दिएर उम्मेदवार हुने विषयमा छलफल थालेका हुन् । पूर्व राष्ट्रपति विद्या भण्डारीसँगबाट राजनीतिक भेटघाट शुरु गरेका बालेनले बुधबार मध्यराती कांग्रेस नेता चन्द्र भण्डारीसँग कुराका नी गरेका छन् । उनीहरुबीच बालेनका निकटतम सहयोगी कुमार बेनको घरमा भेटवार्ता भएको हो । एउटै पार्टीमा कसरी रहन सकिन्छ भन्ने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको भएपनि भण्डारीले कांग्रेसमै आएर राजनीति गर्न सुझाव दिएका थिए । भण्डारीको सुझावलाई बालेनले कुनै जवाफ नदिएको र आफूले देशविकास पार्टीलाई अघि बढाउन खोजेको बताएका थिए ।
बालेनले बुधबार चर्चित चिकित्सक डा.भगवान कोइराला,नायक निश्चल बस्नेत, सागर ढकाल, रेशम चौधरी लगायतसँग भेटघाट गरी देशविकास नामको पार्टीलाई अघि बढाउने संकेत गरेका थिए । केही दिन अघि मेयर बालेनले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
रविसँगको भेटमा स्पष्ट कुरा नआएपछि उनले आफ्नो टीम र आफू सक्रिय हुँदै ‘देश विकास पार्टी’ अगाडि बढाउने मनस्थिति बनाएको उनीनिकट स्रोतले जनाएको छ । देश विकास पार्टीमा विभिन्न क्षेत्रका व्यक्तिलाई जोडेर मेयर बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी छ । चुनावी रणनीतिमा लागेका बालेनले अब ऊर्जामन्त्री कुलमान घिसिङ, अन्य जेनजी समूहसँग पनि छलफल अगाडि बढाउने तयारी थालेका छन् । बालेनको टीमले विकल्पमा ‘हाम्रो नेपाल पार्टी’लाई पनि सम्पर्कमा राखेका छन् । दुवै पार्टी निर्वाचन आयोगमा दर्ता छन् । उनलाई कुमार बेनले सहयोग गरिरहेका छन् । कुमार बेन आफै ललितपुरबाट चुनावी तयारी गरिरहेका छन् ।
