काठमाडौं, १२ पुस ।
आगामी फागुन २१को निर्वाचनमा नेपाली कांग्रेसले चुनाव भाग लिनेगरी तयारी थालेको छ । आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गर्दै समानुपातिकतर्फका उम्मेदवार चयनको मापदण्ड तय गरी नाम छनोट प्रक्रिया सुरु गरेर तयारी गरेको हो ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आइतबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले विगतको निर्वाचनमा पार्टीका आधिकारिक वा समर्थित उम्मेदवारका विरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक–समर्थक बनेका वा असहयोग गरेका व्यक्तिहरूमाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन तथा विधानअनुसार स्वतः लागेका कारबाहीको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय पनि गरेको छ । साथै, कारबाही माफी पाएका व्यक्तिहरूको क्रियाशील सदस्यतामा निरन्तरता दिई नवीकरण गर्ने निर्णय गरिएको छ ।
यस्तै, विगतमा पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलबाट उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका व्यक्तिहरूलाई पुनः पार्टीमा फर्कन कांग्रेसले आह्वान गरेको छ । फर्किने व्यक्तिहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले विभिन्न पेसा, व्यवसाय तथा बौद्धिक क्षेत्रमा क्रियाशील लोकतान्त्रिक विचारधारा भएका व्यक्तिहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै पार्टी, लोकतन्त्र र मुलुकको हितका लागि विशेष संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक भोलि आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । कांग्रेसमा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको वकालत गरिरहेका बेला केन्द्रीय समितिको बैठक निरन्तर चलिरहेको छ ।

