काठमाडौँ, १३ पुस।
नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद भइसकेकालाई आगामी निर्वाचनमा पुनः उम्मेदवार नबनाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रणाली लागू भएयताका सबै निर्वाचनमा सोही माध्यमबाट सांसद बनेकाहरूलाई यसपटक बन्दसूचीमा समावेश नगर्ने निर्णय गरेको हो।
कार्यसम्पादन समितिका एक सदस्यका अनुसार बैठकमा यस्तो निर्णय भएको भए पनि त्यसलाई अन्तिम रूप भने दिन बाँकी छ। ‘हालसम्मको छलफलमा यस्तो निष्कर्ष आएको छ, अन्तिम निर्णय भने औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ,’ ती सदस्यले बताए।
नेपालमा २०६४ सालको संविधानसभा निर्वाचनदेखि मिश्रित निर्वाचन प्रणाली लागू हुँदै आएको छ, जसअन्तर्गत समानुपातिक प्रणाली पनि प्रयोगमा छ। त्यसयता २०७० को संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को संसदीय निर्वाचनमा समानुपातिक प्रणालीमार्फत सांसद चयन हुँदै आएका छन्।
समानुपातिक प्रणालीमा क्लस्टरको नाममा सीमित व्यक्तिहरूले पटक–पटक अवसर पाएको भन्दै आलोचना हुँदै आएको छ। सोही आलोचनालाई मध्यनजर गर्दै कांग्रेसले यसपटक कडा निर्णय लिएको बताइएको छ।
यसअघि कांग्रेसले लगातार दुई निर्वाचनमा एउटै व्यक्तिलाई समानुपातिक सांसद नबनाउने अभ्यास गर्दै आएको थियो। तर यसपटक भने कुनै पनि निर्वाचनमा एकपटक पनि समानुपातिकबाट सांसद भइसकेकालाई पूर्ण रूपमा बञ्चित गर्ने निर्णय गरिएको हो।
