भूगोल, क्षेत्र, लिंग, समूदाय, दलित, महिला कुनै पनि कलष्टर नमिलाएको र सबैभन्दा बढी भोट ल्याएर समानुपातिकमा छानिएकाहरुलाई सांसद नै नहुनेगरी सूचीमा समेटिएपछि रास्वपाभित्र विवाद उत्पन्न भएको हो। ४४ जिल्लामा समानुपातिकको प्रतिनीधित्व छैन,मोरङमा १४ जना र चितवनमा २१ जना समेटिएको छ।
काठमाडौं, १५ पुस । नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समानुपातिक उम्मेदवारको सूचीका कारण तनाब उत्पन्न भएको छ । तनावसँगै सो पार्टीभित्र विवाद समेत सिर्जना भएको छ । रविलाई बलियो साथ दिएका लिमा अधिकारी, रमेश प्रसाई, प्रमोद न्यौपानेदेखि विकेकशील साझाबाट रन्जु दर्शनासम्म करौतिमा परेका छन् ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीका कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद उत्पन्न भएपछि अन्य दलभन्दा रास्वपा झन निरंकुश, अव्यवहारिक र अलोकतान्त्रिक देखिएको छ । भूगोल, क्षेत्र, लिंग, समूदाय, दलित, महिला कुनै पनि कलष्टर नमिलाएको र सबैभन्दा बढी भोट ल्याएर समानुपातिकमा छानिएकाहरुलाई सांसद नै नहुनेगरी सूचीमा समेटिएपछि रास्वपाभित्र विवाद उत्पन्न भएको हो। ४४ जिल्लामा समानुपातिकको प्रतिनीधित्व छैन,मोरङमा १४ जना र चितवनमा २१ जना समेटिएको छ।
रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि सोमबार आयोगमा बुझाइएको संयुक्त सूचीप्रति नेताहरू निकै आक्रासित र असन्तुष्ट भएका छन्।
चितवन र मोरङबाट धेरै जनालाई उम्मेदवार बनाएको छ रास्वपाले ४४ जिल्लाको प्रतिनिधित्व गराउन सकेन। यति मात्र होइन, आफैँले गराएको प्राइमरी इलेक्सनबाट छनोट गरेर सबैभन्दा बढी मत पाएका नेतालाई समेत समानुपातिकको सूचीमा पछि राखेपछि व्यक्ति, नातावाद हावी भएको भन्दै भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् । नेतृत्वलाई सुमेरु पर्वत जस्तो परिक्रमा गर्नेहरु मात्रै बन्दसूचीको पहिलो नम्बरमा परेकाले पनि उनीहरु असन्तुष्ट भएका हुन्।
रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको चुनावमा प्रि–इलेक्सनबाट उम्मेदवार छनोट गर्ने विधिको सुरुवात गरेको थियो।
रास्वपाले मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन उम्मेदवार छनोट समिति बनायो। सह–महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय चन्दा कार्की र राजन गौतमसहित सातै प्रदेशका सभापति समेटिए। यही समितिले प्रि–इलेक्सन गरायो। जसको अन्तिम परिणाम सोमबार सार्वजनिक भएको थियो।
सार्वजनिक नतिजाअनुसार खुलातर्फ रमेश प्रसाईं १८ हजार २२३ मतसहित पहिलो स्थानमा छनोट भए। यस्तै, आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित पहिलो स्थानमा चयन भए।
दलिततर्फ विजय जैरु १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा उम्मेदवार छनोट हुँदा मधेसीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा परिन्।
यस्तै, थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा समानुपातिक सूचीमा पर्दा समिना मिया मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गरेर पहिलो नम्बरमा परिन्।
खुलातर्फ प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो स्थान हासिल गर्दै बन्द सूचीमा पर्न सफल भएकी थिइन्।
प्रि–इलेक्सनबाट खुलातर्फकै अन्य नतिजामा टीका संग्रौला चौथो, लिमा अधिकारी पाँचौँ, समीक्षा बास्कोटा छैटौँ, विपिनकुमार आचार्य सातौँ, क्रान्तिशिखा धिताल आठौँ र प्रतिभा रावल नवौँ स्थानमा निर्वाचित भए।
आदिवासी जनजातितर्फ गायिका सत्यकला राई दोस्रो, टासी लाजोम तेस्रो र मिलन लिम्बू चौथो स्थानमा छनोट भएका थिए। दलिततर्फ अमृता विक दोस्रो, सबिना विश्वकर्मा तेस्रो, स्मृति सेन्चुरी चौथो र अविता नेपाली पाँचौँ स्थानमा परे। मुस्लिम समूहबाट अख्तर हुसैन र मोहम्मद हसरत अली तेस्रो नम्बरमा छनोट भएका थिए।
तर, उनीहरूमध्ये कतिपय निर्वाचन आयोगका बुझाइएको सार्वजनिक सूचीमा पछाडि परेका छन्।रास्वपाका नेता रमेश प्रसाईंले प्रि–इलेक्सनमा सबैभन्दा बढी मत पाएर पहिलो नम्बरमा थिए। तर, निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा उनी खस आर्यतर्फ पाँचौँ नम्बरमा छन्।
जबकि, प्रि–इलेक्सनमा उनीभन्दा निकै कम मत पाएका विपिन आचार्य निर्वाचन आयोगमा बुझाएको बन्द सूचीको खस आर्यतर्फको पहिलो नम्बरमा छन्।
प्रि–इलेक्सनकै अवमूल्यन गरेको भन्दै विधि र प्रक्रिया मिचेर बन्द सूचीमा उम्मेदवारको नाम तलमाथि पारेको एक नेताले गुनासो गरे।जसले परीक्षा आह्वान ग¥यो, प्रश्नपत्र बनायो, उही जाँच दिन आयो, उही पहिलो भयो,’ विपिन आचार्यतिर संकेत गर्दै ती नेताले भने, ‘विधि पद्धतिका कुरा गर्नेहरूले नै बिगारे।’
रास्वपासँग एकता गरेका कुलमान घिसिङनिकटस्थ नेताहरू पनि समानुपातिक सूचीप्रति असन्तुष्ट छन्।२२ जना पाउनुपर्नेमा १८ जना नाम पठाए पनि उज्यालो नेपालको समूहले जम्मा १४ जना मात्रै समानुपातिक सांसद पाएको छ। आदिवासीतर्फ भने डा. राम लामा समेटिएका छन् । उनी सम्बन्धले उपसभापति कुलमान घिसिङका भाञ्जा पर्छन् । जबकि, आन्तरिक चुनावमा उत्तमबहादुर गुरुङले १६ हजार १२ भोट ल्याएर शीर्ष स्थानमा आएका थिए । सूची बुझाउँदा उनको नाम पनि समावेश गरिएन ।
उनेपाबाट पहिलो नम्बरमा राखिएका डा महेन्द्र लावतीलाई रास्वपाको संयुक्त सूचीको १२ नम्बरमा राखिएको छ। जसका कारण लावतीले आफ्नो नाम हटाइदिन भनेका छन् ।काठमाडौँ महानगरपालिकाका मेयर बालेनले ३६ जना उम्मेदवार पाएका छन्। बालेनले आफ्नो कोटाबाट धनाढ्यदेखि इन्फ्लुएन्सरलाई समेटेका छन्।
रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आइतबार बिहान एकता गर्ने सहमति भएको थियो। यस्तै, घिसिङ संरक्षक रहेको उनेपासँग रवि र बालेनले सोमबार साँझ एकताको सहमति गरेका हुन्। त्यसपछि निर्वाचन आयोगमा संयुक्त सूची बुझाएका थिए।
