काठमाडौं, १६ पुस ।
एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सूची हेर्ने हो कोहीलाई अवसरको खातै खात परेको छ । कोही भने नाम मात्र राखेर औपचारिकता पूरा गरिएको छ । सूची अनुसार एमालेको १ सय १० जनाको समानुपातिकमा चार पूर्व मन्त्रीसहित एघार पूर्व सांसदले दोहोरिएर अवसर पाएका छन् । एमाले अध्यक्ष केपी ओलीको जयजयकार गरे वापत उनीहरुले अवसर पाएको सिधा देखिन्छ ।
ओलीपछिको वरियतामा उपाध्यक्ष रहेका रामबहादुर थापा‘बादल’ ०६४ मा प्रतिनिधिसभा र ०७४ पछि राष्ट्रियसभामा निर्वाचित सांसद हुन् । उनी ०६४ पछि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री तथा ०७४ पछि केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए । ११औं महाधिवेशन र त्यसपछिका दिनमा ओलीको प्रवत्ताको रुपमा प्रस्तुत भएका थापालाई आदिवासी जनजातीको पहिलो नम्बरमा राखिएको छ । थापाको सूची देखेपछि एमाले नेता गोकुल बाँस्कोटाले आदिवासी जनजातीको नै बेइज्जत भएको टिप्पणी गरेका थिए ।
त्यस्तै, सचिव पद्यमा अर्याल ०७४ मा निर्वाचित सासद तथा त्यसलगत्तै ओली नेतृत्व सरकारकी भूमिसुधार मन्त्री थिइन् । उनलाई ११ औं महाधिवेशनमाको संघारमा प्रचारको जिम्मा दिइएको थियो । त्यस्तै, जितबहादुर दर्जी पूर्व राज्यमन्त्री तथा नरदेवी पुन ०७४ पछि गण्डकी प्रदेश सरकारमा प्रदेश मन्त्री थिइन् ।
पूर्व उपाध्यक्ष गुरुप्रसाद बराल पनि ०५१ का निर्वाचित सांसद हुन् । त्यस्तै, समानुपातिक सांसदमा समावेश गरिएका निरुदेवी पाल, कोमल वली, उषाकला राई र शान्ता चौधरीले ०७४ पछि एक पटक समानुपातिक सांसदमा अवसर पाइसकेका थिए । त्यस्तै, विषमलाल अधिकारी दनुवार र गोरखबहादुर बोगटी पनि प्रत्यक्षतर्फबाट निर्वाचित भइसकेका पूर्व सांसद हुन् ।
पहिले नै मन्त्री र सांसद बनेर अवसर पाइसकेका केहीलाई पुन समानुपातिकमा अवसर दिए पनि यस पटक नातागोता र आफन्तहरुलाई एमालेले सूचिमा समेटेको छैन । एमालेको निर्वाचन आयोगले संसदमा प्रभावकारी भूमिका खेल्नसक्ने अति आवश्यकबाहेक कसैलाई पनि नदोह¥याएको र ९० प्रतिशतभन्दा बढि नयाँलाई अवसर दिएको जनाएपछि ती ११ जनालाई पार्टी काममा खटाएर उनीहरुभन्दा संसदमा अब्बल प्रस्तुति दिनसक्ने युवाहरुलाई समेटेको भए पार्टीमा राम्रो सन्देश जाने विषयलाई एमालेले ध्यान दिन सकेको देखिएन ।
स्रोतका अनुसार पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि समानुपातिकमै राख्न उनी निकट नेताहरुले जोड गरेपनि उनले अन्तिमतिर प्रत्यक्षतर्फै चुनाव लड्ने योजना रहेको ओलीलाई सन्देश पठाएका थिए । यसले गर्दा उनी पनि पदको लालची देखिएको आभाष हुन्छ । यद्यपि उनको यो इच्छा बाहिर आएको छैन । ओलीले यसपटक पोखरेललाई काठमाडौंबाट टिकट दिने संभावना निकै कमजोर रहेको छ । यसअघि ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलले टिकट पाएका थिएनन ।
