राधाकृष्ण देउजा
देशमा सन्निकट रहेको चुनाव र त्यसमार्फत देशलाइ जोगाउने , लोकतन्त्रलाइ जोगाउने , संविधानलाइ लयमा ल्याउने राष्ट्रिय दायित्व पुरा गर्नु पर्ने अभिभाराबाट काँग्रेसको संस्थापनदेखि गगन विश्व प्रकाशहरु पन्छिन मिल्दैन ।
आदरणीय काँग्रेसजनहरु
हार्दिक नमस्कार
सुरुमै प्रष्ट पार्छु , म कुनै दिन नेपाली काँग्रेस थिइन , हैन र हुने छैन अनि मैले आवश्यकताको दृष्टिले पटक पटक गगन थापालाइ प्रधानमन्त्री बनाउनु पर्ने मत राखेको छु । तर गगन थापासंग मेरो चिनजान , संवाद केहि पनि छैन । गोत्र र जातले श्रद्धय शेर बहादुर देउवा र हाम्रो कुल एक हो तर वहाँसंग पनि मेरो चिनजान छैन ।
यति प्रष्ट पारिसके पछि भूमिका नबाँधी यति भन्छु कि नेपाल राष्ट्र , संवैधानिक सर्वोच्चता सहितको कानुनी राज सहितको लोकतान्त्रिक गणतन्त्र माथि चौतर्फी हमला भैरहेको यो समयमा नेपाली काँग्रेस पार्टी आन्तरिक विवादमा फस्ने विषय नेपाल राष्ट्र र लोकतन्त्रको लागि अत्यन्त घातक छ । अब यदी तर किन्तु परन्तु नसोची आन्तरिक एकतालाइ बलियो बनाउँन अत्यावश्यक छ ।
दुनियालाइ थाहा छ काँग्रेस भित्र गगन थापा , विश्वप्रकाश शर्मा लगायत नेताहरुले नेतृत्वमा स्थापित हुन आवश्यक जायज र स्वाभाविक अन्तरसंघर्ष गर्दै आएका छन । त्यस प्रति काँग्रेस भित्र र वाहिर व्यापक समर्थन पनि छ ।
हो , उनीहरुको माग अनुसार शिघ्र महाधिवेशन मार्फत नीति र नेतृत्व समय सापेक्ष बन्नु पथ्र्यो तर कतिपय प्राविधिक र मुख्यत पुराना नेताहरुले अत्यावश्यक परिवर्तनप्रति अरुचि गरेकोले त्यसो हुन सकेन, त्यो गलत भयो । यद्यपि देशमा सन्निकट रहेको चुनाव र त्यसमार्फत देशलाइ जोगाउने , लोकतन्त्रलाइ जोगाउने , संविधानलाइ लयमा ल्याउने राष्ट्रिय दायित्व पुरा गर्नु पर्ने अभिभाराबाट काँग्रेसको संस्थापनदेखि गगन विश्व प्रकाशहरु पन्छिन मिल्दैन ।
नेपाली काँग्रेसले सम्पूर्ण रुपमा एकताबद्ध भएर महाधिवेशनलाइ चुनाव पछि सार्नु उचित हुन्छ । तर के त्यो निर्णयले अहिले आम जनता नेपाली काँग्रेस तर्फ आकर्षित हुन्छन त ? अनि त्यति मात्रै निर्णय गरेर काँग्रेसले चुनावमा अपेक्षित मत ल्याउला त ? पक्कै ल्याउँदैन । अनि त्यसो हुँदा फाइदा कसलाई होला त ? त्यसो हुँदा फाइदा लोकतान्त्रिक गणतन्त्र पक्षधर अरु दल र शक्तिलाइ पनि पक्कै हुँदैन ।
बरु त्यसले ठग , अराजक, आतंककारीदेखि प्रतिगामी शक्तिलाइ मात्रै फाइदा हुनेछ । त्यसैले नेपाली काँग्रेसले महाधिवेशनलाइ निर्वाचन पछाडी सार्ने निर्णय संगै अबको चुनावमा गगन थापालाइ काँग्रेसको सरकार बनेको अवस्थामा प्रधानमन्त्री बनाउने निर्णय गरेमा राम्रो हुन्छ । वैकल्पिक शक्तिका रुपमा विकास भएकाहरुले बालेन्द्र साहलाई प्रधानमन्त्रीको रुपमाअघि सार्दा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि बढाउदा काउण्टर हुनेछ ।
माथि नै भनेको छु , म काँग्रेस थिइन , हैन र हुन्न तर म लोकतन्त्रवादी हो , गणतन्त्रको पक्षधर हुँ र प्रवासी जीवन बिताएको गैरआवासीय नेपाली भए पनि मातृभुमिलाइ माया गर्ने मानिस हुँ र त्यो सबै हुनुको नाताले नेपाली काँग्रेसका नेताहरुलाइ देशको वर्तमान अवस्था प्रति संवेदनशिल रहेर निर्णय लिन हार्दिक अनुरोध गर्छु । तपाईं हामीले मातृभुमि मानेको देशमा सबै जनाले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र तदनकुलको संविधान माथि प्रहार भैरहेको यो समयमा आफुले के पाउनु पर्छ भन्नेमा नभई देशको लागि कसले के गर्नु पर्छ भन्ने कुरालाइ केन्द्रमा राखेर निर्णय लिनु अनिवार्य छ ।
