काठमाडौं, २० पुस ।
भेनेजुएलामा अमेरिकी सेनाले गरेको आक्रमणमा सैनिक र सर्वसाधारण गरी कम्तीमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्स ले यो जानकारी दिएको हो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया मचाडोलाई सत्ता हस्तान्तरण नगर्ने स्पष्ट संकेत दिएका छन्। मचाडोलाई सत्ता दिनेबारे प्रश्न उठ्दा ट्रम्पले भने, “मारिया असल महिला हुन्, तर भेनेजुएलामा उनको व्यापक सार्वजनिक समर्थन र सम्मान छैन।”
ट्रम्पले सत्ता नियन्त्रणमा लिएपछि मचाडोलाई अघि सार्ने अपेक्षा गरिएको थियो। मचाडो स्वयंले पनि सत्ता सम्हाल्न तयार रहेको बताएकी थिइन्। तर आश्चर्यजनक रूपमा ट्रम्पले मादुरो सरकारकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको दाबी गर्दै त्यसबारे विचार गरिने बताएका छन्।
आइतबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर अमेरिका पुर्याएको छ। उनीहरूलाई लिएर आएको अमेरिकी सैन्य विमान न्यूयोर्कस्थित स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको थियो। कडा सुरक्षाबीच विमानबाट बाहिर निकालिएका मादुरो नीलो ज्याकेटमा देखिएका थिए भने उनको अनुहार छोपिएको थियो। त्यसपछि उनलाई म्यानहट्टन लगिएको छ, जहाँ अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ।
मादुरोमाथि लागूपदार्थ तथा हतियार तस्करीसँग सम्बन्धित गम्भीर आपराधिक आरोप लगाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार उक्त कारबाहीका क्रममा केही क्युबाली नागरिकको ज्यान गएको छ, तर कुनै पनि अमेरिकी सैनिकको मृत्यु भएको छैन। केही सैनिक सामान्य रूपमा घाइते भएका छन्।
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा सैन्य आक्रमण गरी मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको थियो। ट्रम्पले भेनेजुएलाको अवस्था सामान्य नहुँदासम्म अमेरिकाले देशको प्रशासनिक जिम्मेवारी सम्हाल्ने बताएका छन्।
यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथलगायत शीर्ष अधिकारीहरू सम्मिलित विशेष टोली गठन गरिएको छ। उक्त टोलीले भेनेजुएलामा कानुन र व्यवस्था कायम गर्न, सरकारी संस्थाहरू पुनर्स्थापित गर्न तथा तेल, ऊर्जा र सुरक्षा क्षेत्रलाई स्थिर बनाउँदै संक्रमणकालीन व्यवस्थापन गर्न सहयोग गर्ने बताइएको छ।
