काठमाडौं, २१ पुस । पर्साबाट प्रहरीले हुण्डीको १० लाख बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाउँपालिका ४ देउरवानाका २२ वर्षीय पवनकुमार साह, त्यही ठाउँका ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्। उनीहरू तीनै जनालाई जगरनाथपुर गाउँपालिका(३ गडैयाटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
भारतबाट ना.१६ प ३०२० नम्बरको मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका उनीहरूलाई गडैयाटोलमा प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट श्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ बरामद भएको कार्कीले बताए। बरामद रकम हुण्डीको कारोबारको रहेको उनले बताए। पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए।
