काठमाडौं, २१ पुस ।
अग्रेजी नयाँ वर्षको अघिल्लो साँझ ललितपुरको गोदावरीमा लागुऔषधसहित आयोजना गरिएको एक पार्टीमा प्रहरीले छापा हानेर नौजनालाई पक्राउ गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ विदेशी र तीन नेपालीलाई पक्राउ गरेको खुलेको हो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा बिसंखु नारायणस्थित एक रिसोर्टमा प्रहरीले राति छापा हानेको थियो । महामाया मन्त्र इन्भेटका नाममा त्यहाँ ७२ घण्टे लागुऔषधसहितको पार्टी आयोजना भएको थियो। जहाँबाट प्रहरीले पाँच भारतीय, एक ग्रिस र तीन नेपालीलाई पक्राउ गरेको हो । उनीहरूबाट एसएसडी, गाँजा, चरेश, म्याजिक मसरुमलगायत लागुऔषध बरामद भएको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको केरला र आन्ध्र प्रदेशका पाँच जना, ग्रीसका एक जना तथा नेपालका तीन जना नागरिक रहेका छन्। पक्राउ परेका नेपाली नागरिकमध्ये एक चितवन, एक मोरङ र एक काठमाडौंका रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूमा भारत, केरला–कोचीका २९ वर्षीय केभिन जोसेफ, २६ वर्षीय अभिराज कुथाडी ९हैदराबाद, आन्ध्र प्रदेश०, ग्रीस एथेन्सका २१ वर्षीय दिमित्रियोस क्याट्टोस, भारत केरला–कोचीका २८ वर्षीय सादिक, २३ वर्षीय अस्विन अन्तु र २८ वर्षीय व्यषणाव के.शाजु रहेका छन्।
यसैगरी नेपाली नागरिकतर्फ चितवन राप्ती नगरपालिका–३ भण्डाराका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगर महानगरपालिका–१३ राजवंशी टोलकी २५ वर्षीया मनसुन न्यौपाने तथा काठमाडौं महानगरपालिका–२ नक्सालका ४० वर्षीय आदित्य अर्याल पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
