काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा बारा कलैया उपमहानगरपालिका–२ कबलपुरका २८ वर्षीय गौरी शंकर यादव र बारा फेटा गाउँपालिका–३ घर भई भारतको मोतिहारी पतौना टोलमा डेरा गरी बस्ने २८ वर्षीय रबि कुमार श्रीवास्तव रहेका छन्।
प्रहरीका अनुसार पुस १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरका ९३ थान नक्कली नेपाली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। सोही अनुसन्धानका क्रममा यादवको संलग्नता खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रीवास्तवले भारतमा नक्कली नोट छाप्दै आएको र आवश्यक सामग्री नेपाल ल्याउने योजना बनाएको खुलेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि नक्कली मुद्रा सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
