काठमाडौ ,२२ पुस।
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, राष्ट्रियसभा निर्वाचनका लागि भोलि हुने मनोनयन प्रक्रिया तथा केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल भइरहेको छ। सचिव पद्मा अर्यालका अनुसार यी विषयहरू बैठकका मुख्य कार्यसूचीमा रहेका छन्।
आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेन्डाका रूपमा समेटिएको छ। देश निर्वाचनतर्फ उन्मुख भइरहेको सन्दर्भमा हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेले गरेको एक पदाधिकारीले जानकारी दिए।
सोहीअनुसार मुख्य–मुख्य विभागका प्रमुख र प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने, साथै जिल्ला इन्चार्जहरूलाई पनि संयोजकको भूमिकामा परिचालन गर्ने तयारी रहेको छ।
यस्तै, आजको बैठकले यही २६ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीतिहरू पनि तय गर्ने एक नेताले बताए।
