काठमाडौं, २८ पुस ।
विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको सहभागिता प्रमाणित हुने अबस्था बनेपछि पार्टी फुट्न नदिन सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अन्तिम निर्णायक सम्बाद गर्ने भएका छन् ।
निकटस्थ नेताहरुले पार्टी फुट्न नदिन सम्बादका लागि आग्रह गरेपछि सभापति देउवा उनीहरुलाई बोलाएर निर्णायक सम्बाद गर्ने निष्कर्षमा पुगेका हुन् ।
पार्टी फुट्न नदिन नेता शेखर कोइरालाले विशेष महाधिवेशनलाई संकल्प पास गर्ने महाधिवेशनका रुपमा स्वीकारेर जानेगरी दुवै पक्ष तयार हुनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । त्यही प्रस्तावको सेरोफेरोमा रहेर देउवाले महामन्त्रीद्वयसँग छलफल गर्ने उनी निकट एक नेताले बताए ।
‘प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पनि उनीहरुसँग कुराकानी हुन लागेको पुष्टि गरे । ‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी उनले भने, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो ।
