काठमाडौं, २९ पुस । कांग्रेसभित्रको विवाद तत्काललाई टर्ने अवस्थामा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तनसहितको कार्यविधि पारित भएपछि विभाजन रोक्न कांग्रेसभित्र अस्थायी ‘युद्धविराम’ भएको छ । वार्ताका लागि सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् भने महामन्त्रीद्वयले चार सदस्यीय समिति बनाएका छन् ।
दुवै पक्षका वार्ता समितिबिच आज वार्ता हुने तय भएको छ ।विशेष महाधिवेशनको दोस्रो दिन सभापति देउवाले निकटस्थ पदाधिकारीदेखि इतर समूहका नेता डा। शेखर कोइरालासमेतसँग चरणबद्ध छलफल गरेपछि सोमबार साँझ महामन्त्रीद्वयसँग संवादका लागि तीनजना नेतालाई जिम्मेवारी दिएका हुन् । सभापति देउवाले कार्यवाहक सभापति खड्का तथा नेताद्वय रमेश लेखक र बालकृष्ण खाणलाई उक्त जिम्मेवारी दिएका छन् ।
यस्तै, संस्थापन पक्षको यो जानकारीसँगै महामन्त्री थापा र शर्माले पनि संवादका लागि चार सदस्यीय टोली गठन गरेका छन् । वार्ता टोलीमा नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे छन् । दुवै पक्षको वार्ता टोलीबिच मंगलबार बिहान छलफल गर्ने सहमति छ । ‘विशेष महाधिवेशनको जारी प्रक्रिया कायम राख्ने गरी पार्टी नेतृत्वसँग छलफल गर्न चारजना नेताहरूलाई महामन्त्रीद्वयले जिम्मेवारी दिनुभएको छ,’ महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने ।
वार्ता समिति गठन भए पनि दुवै पक्षले आ–आफ्ना तयारी अगाडि बढाएका छन् । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनसम्मका कार्यसूचिसहित काम गरिरहेको छ । अर्कोतर्फ कार्यवाहक सभापति खड्काले आजपार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको आह्वानअनुसार आइतबार सुुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन नेतृत्व परिवर्तनसहितको कार्यविधि पारित भएको छ । यसले संस्थापन पक्षलाई झस्काएको छ ।
सभापति देउवा, कार्यवाहक सभापति खड्का र नेता डा। शेखर कोइरालालगायतका नेता पार्टीको संकट समाधानका लागि आपसी छलफल गरे पनि विशेष महाधिवेशनलाई मान्यता दिने विन्दुमा पुगेका छैनन् । नेतृत्वले विशेष महाधिवेशनको स्वामित्व नलिए वा नीतिगत प्रस्तावलाई मान्यता नदिए इतरपक्ष आज नयाँ नेतृत्वको निर्वाचन प्रक्रिया थाल्ने तयारीमा छ ।
सोमबार विशेष महाधिवेशनको बन्दसत्रको सुरुवातमै कार्यविधि पारित भएको थियो । जसमा नीति र नेतृत्व परिवर्तनसमेतका प्रावधान उल्लेख छन् । कार्यविधि पारित भएपछि महामन्त्रीद्वय थापा र शर्माद्वारा प्रस्तुत नीतिगत र सांगठनिक प्रस्ताव बन्दसत्रमा पेस भएको थियो । त्यसपछि प्रतिनिधिलाई नौ समूहमा विभाजन गरेर महामन्त्रीद्वयको प्रस्तावमा छलफल गर्न र आ–आफ्ना टोलीनेताबाट सुझाव पेस गर्न भनिएको थियो । तर, सोमबार साँझसम्म समूहगत छलफल नसकिएका कारण मंगलबार पुनः बन्दसत्र लम्ब्याइएको थियो । नेतृत्वले त्यसवेलासम्म सहमतिका लागि अग्रसरता नलिए र नीतिगत प्रस्ताव पारित भएसँगै नयाँ नेतृत्व चयन अघि बढ्ने कार्यतालिका छ ।
केन्द्रीय समितिले स्वामित्व नलिए वा नेतृत्वले रेस्पोन्स नगरे मंगलबार विशेष महाधिवेशनको बन्दसत्रमा पार्टीको निर्वाचन समिति, अनुशासन समिति र केन्द्रीय समिति भंग गर्ने तयारी छ । ‘त्यसपछि निर्वाचन समिति गठन गरेर नयाँ नेतृत्व प्रक्रिया अघि बढाउँछौँ,’ विशेष महाधिवेशन सचिवालय प्रमुख नेता मनोजमणि आचार्यले भने, ‘विशेष महाधिवेशनको समापनसम्म हलमा नेतृत्व आउनुपर्छ र यसको अपनत्व लिनुपर्छ । यदि नेतृत्वले अपनत्व लियो भने त्यहीअनुसार जान्छ । नेतृत्वले अपनत्व लिएन भने नेतृत्व परिवर्तनमा जाने हो । विशेष महाधिवेशनको हल नेतृत्व परिवर्तनको मुडमा छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार दिनभरि निवासमा पार्टीका नेताहरूसँग चरणबद्ध छलफलमा थिए । देउवाले कार्यवाहक सभापति खड्का र नेता डा. कोइरालालाई महामन्त्रीद्वयसँग छलफल गर्न भनेका थिए । उनले पार्टीका निकटस्थ केन्द्रीय नेताहरूसँग पनि छलफल गरेका थिए ।कार्यवाहक सभापति खड्काले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । सोमबार दिनभरि सभापति देउवा, नेता डा। कोइराला तथा महामन्त्रीद्वय थापा र शर्मासँग भेटवार्ता र छलफलमा रहेका खड्काले बैठक बोलाएका छन् ।
