राधाकृष्ण देउजाभाद्र २३ र २४ गते लाइ एकै ढंगले बुझ्ने , बुझाउने गल्ति किमार्थ नहोस, भनेर भन्नै पर्छ किन कि शान्तिपूर्ण प्रदर्शन र आतंककारी हमला एकै हैनन ।
नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा हाली मुहाली गरेर बसेका कतिपयले राजनीतिक दल र त्यसको नेतृत्वले गरेको भ्रष्टचार , अन्याय , अविवेकी व्यवहार र अकर्मण्यताको विरोध गर्दै नव युवाहरुले जेन जी को नाममा भाद्र २३ गते प्रदर्शन गरे । त्यसको भावना संग तत्कालिन सत्तासीन दलका केही व्यक्तिहरु बाहेक सम्पूर्ण नेपालीहरुको समर्थन थियो । त्यस दिनको प्रदर्शनमा प्रत्यक्ष सहभागी हुने युवा युवतीहरु संग सिंगो देशको साथ थियो , यही सत्य हो । त्यसदिन उनीहरुले गरेको प्रदर्शनमा छिरेर घुसपैठ पछि केहि अपराधीहरुले जे जस्ता हर्कत गरे र त्यसपछि राज्य संयन्त्रले गुमाएको धैर्यताको परिणाम स्वरूप जसरी नव युवा युवतीको ज्यान गयो त्यसको परिणाम सत्तामा रहेकाहरु हेलिकोप्टर चढेर सेनाको सुरक्षा घेरामा पुग्नु पर्यो ।
आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा त्यसले नछोएको र त्यसलाई हेरेर नरोएको मन कसैको छैन होला ? आफ्नो देशका कर्णधार ती कलिला युवा युवतीको मृत्युबाट विछिप्त नहुने को होला ? कोहि छैन । त्यसैले नै हो स्वतन्त्र र न्यायिक छानविनको माध्यम बाट त्यो हत्याको कारक रहेका जोसुकैलाइ कारवाही हुनुपर्छ भन्ने माग कुनै एक व्यक्ति , समुह वा समुदायको नभएर त्यो राष्ट्रिय माग बनेको छ । त्यस जघन्य अपराधको कारक जोसुकै हुन उनीहरु माथि कारवाहि हुनेछ , नभई छोडने छैन , यही नै सत्य हो । यसको लागि कोही कसैले अतिरिक्त संवेदनशील रहेको दावी गर्न जरुरी छैन ।
भाद्र २३ गते को जेन जी प्रदर्शनमा घुसपैठ पश्चात भएको कोहोराममा जीवन गुमाउने युवा युवतीको मृत्युले सिंगो देश आक्रान्त बनेको र त्यसरी अनाहकमा मर्न बाध्य पारिएकाहरुलाइ सम्पूर्ण देशले वीर शहिदको रुपमा सम्मान र सम्झना गरिरहने छ । २४ गते आम मानिसहरुले अघिल्लो दिन भएको घुसपैठ र त्यसले निम्त्याएको कोहोरामको निन्दा गर्दै सडकमा आएको मौका छोपेर नेपालका विरुद्ध गरिएको ( विडम्वना नेपाली नै प्रयोग गरेर वा भएर ) आतंककारी हमला आम नेपाली जनताको काम थिएन । भाद्र २३ गतेको दिन युवा युवतीहरुको मृत्युमा रोएको नेपाली मन , भोलि पटक अर्थात भाद्र २४ गते झन धेरै रोएको थियो भन्दा त्यो पूर्ण सत्य हुन्छ ।
एकातर्फ अघिल्लो दिन शान्तिपूर्ण प्रदर्शन मार्फत सत्ताको शैली बदल्ने इतिहास लेख्नबाट नेपालीहरुलाइ बन्चित गर्ने गरेर भएको घुसपैठले कोहोराम निम्त्याएर त्राशदीपूर्ण हताहती देख्नु परेको घाउ माथि भोलिपल्ट देशको सार्वभौम सत्ता , स्वाधिनता र सुरक्षा संग जोडिएका संरचनाहरु जलाउने देखि शान्तिको पर्याय रहेको नेपाली संस्कार विपरित निजि घरहरु जलाइनेसम्मका हर्कत भएर घाउ माथि थप घाउ त्यसदिन लाग्न पुगेको थियो । भाद्र २३ को घटनाले नेपालमा आन्तरिक चित्कारको अवस्था मात्रै बनेको थियो । तर भाद्र २४ ले त शान्त र सुसंस्कृत नेपाल र नेपालीको परिचय नै धुलिसात हुने ढंगको अत्याचार गरेको थियो ।
तसर्थ कोहि कसैले पनि भाद्र २३ र २४ लाइ एकै ढंगले बुझ्ने वा बुझाउने कोशिस नगरेकै राम्रो होला । झन कोहि कसैले “भाद्र २३ र २४ गतेको जेन जी आन्दोलन” भन्ने काम त गर्दै नगर्नु किन कि त्यसो गर्नु भनेको शान्तिपूर्ण प्रदर्शनको बाटोबाट देशमा व्याप्त भ्रष्टचार निर्मुल पार्दै देशलाइ सुशासन तर्फ लाने सपना बोकेर मैदानमा आएका निस्वार्थ जेनजीहरुको अवमुल्यन मात्रै नभई शान्तिपूर्ण प्रदर्शन गर्न आउँदा अराजकहरुको घुसपैठ र राज्य संयन्त्रको असंवेदनशीलताको सिकार भएका शहिद युवाहरुको वलिदानको अपमान हुनेछ ।
हो,भाद्र २३ लाइ जेन जी आन्दोलन भनेर भन्न मिल्छ तर भाद्र २४ न कुनै आन्दोलन थियो न त त्यो जेन जीले गरेको नै थिए । भाद्र २३ र २४ गते लाइ एकै ढंगले बुझ्ने , बुझाउने गल्ति किमार्थ नहोस, भनेर भन्नै पर्छ किन कि शान्तिपूर्ण प्रदर्शन र आतंककारी हमला एकै हैनन । भाद्र २४ गते भएको आतंककारी हमलामा देश जलाउन उकास्ने वा जलाउने काममा सहभागी मध्य कतिपयले आफ्नो कर्तुत लुकाउन अनि कतिपयले सबैको प्यारो हुन “ भाद्र २३ नभएको भए २४ आउने थिएन” भन्दै कुर्लिएको सुनिन्छ । तर सत्य त्यसो हैन , सत्य चाहिं के हो भने भाद्र २४ को आतंककारी घटना घटाउनकै लागि भाद्र २३ गते आन्दोलनमा घुसपैठ गर्दै कोहोराम मच्चाउने काम गरिएको थियो ।
त्यही कारणले गर्दा नै हो भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शनका आयोजकहरुले आन्दोलनमा घुसपैठ गर्दै अराजकता मच्चाउन खोजिए पछि आफु पनि फर्कने अनि अरुलाइ पनि फर्कने आग्रह गरको सत्यका वावजुद संसद भवन तोडने कोशिस र त्यसको प्रतिवादको नाममा नरसंहार भएको । त्यसैले भाद्र २३ गतेले गर्दा भाद्र २४ भएको नभई भाद्र २४ गतेको हमलालाइ आधार बनाउन भाद्र २३ को शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्दै कोहोराम मच्चाईएको सत्य हो ।
यदी कोहि कसैले भाद्र २३ गतेले गर्दा भाद्र २४ भएको हो र त्यो अघिल्लो दिनको घटनाको जवाफ हो भन्छ भने त्यो या वेवकुफ हो, आफैं अपराधी हो वा अपराधी जोगाउन तल्लिन महाअपराधी हो । यही सत्य हो । त्यसैले भाद्र २३ गतेको हृदय विदारक घटनालाइ देखाएर भाद्र २४ को आतंककारी हमलाको पुष्टि कसैले गर्न खोज्छ भने , “ इमोसनल ब्ल्याकमेल बन्द गर” भन्न सक्नु पर्छ । युवा युवतीको सहास , त्याग र वलिदानको अवमुल्यन र अपमान हुने गरेर आतंककारीहरु सुरक्षित वा पुरष्कृत हुनुहुँदैन ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
