काठमाडौँ, ३० पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने जिकिर गरे।
महामन्त्री थापाले भने, “विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको हो । हामी सत्यको पक्षमा उभिनुपर्छ । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइएको छ, त्यो गलत छ ।”
युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै उनले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाए।
उनले भने, “कांग्रेस कसैको निजी पार्टी होइन, आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्न पर्दैन ? केन्द्रिय कमिटी भङ्ग भएको छ, बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको यो विशेष महाधिवेशन आधिकारिक छ ।”
महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहु¥याउन नपर्ने बताउँदै उनले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न सुझाव दिए।
महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचान आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा राखे। उनले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताए।
सहमहामन्त्री फर्मूला अन्सारीले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा गर्ने भएको बताए। उनले भने, “आदेश दिएर पार्टी चलाउने समय गयो, देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले पार्टीको माग हो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न सक्दैन ।”
नेपाली कांग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उहाँहरू तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरित कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।
