काठमाडौं, १ माघ । युवा भनिएका नेताहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा विभाजन गराएर परिपक्न नेतृत्व लिनबाट गगनकुमार थापा र विश्वश्वप्रकाश चुकेका छन् । ६ दशकभन्दा बढी कांग्रेसको राजनीतिमा संलग्न रहेका नेताहरुले पनि कांग्रेसलाई सम्हालेर राख्न सकेनन । फलतः राजनीति र उमेरको उत्ताराद्र्धमा शेरबहादुर देउवाले कांग्रेस विभाजनको भारी बोक्नु पर्यो । १५औं नियमित महाधिवेशनकै विषयलाई लिएर नेपाली कांग्रेसका नेताहरुको विभाजनकारी भूमिकाका कारण पुसको अन्तिम दिन कांग्रेस तेस्रो पटक विभाजन भयो । दुई वटा विभाजनमा शेरबहादुर देउवा प्रत्यक्ष जोडिन पुगे । एक पटक उनले अधिकार खोज्दा पार्टी विभाजन गरे भने अहिले उनैले अधिकार नदिदा पार्टी विभाजन भयो ।
२०१० को पहिलो विभाजन
२०१० सालमा कांग्रेस बीपी र मातृकाको टकरावका कारण कांग्रेस पहिलो पटक विभाजन भयो । कांग्रेसभित्र राणाविरुद्धको संघर्ष अझ एकीकृत र सशक्त बनाउनुपर्ने दबाब थियो । त्यसैले २००७ असोज १० र ११ मा रौतहटको सीमा बैरगनीयामा कांग्रेसले सम्मेलन राखेको थियो । त्यसमा सशस्त्र क्रान्तिबाट मात्र देशमा परिवर्तन सम्भव हुने निष्कर्ष निस्कियो । त्यसपछि क्रान्तिको सुप्रिम कमाण्डर सभापति मातृकाप्रसाद कोइराला र क्रान्ति सञ्चालनको बागडोरको जिम्मा बिपी र सुवर्ण समशेरलाई दिइयो । त्यहीँबिच २००७ कार्तिक २१ मा राजा त्रिभुवन नाति ज्ञानेन्द्रबाहेक सपरिवार गद्दीत्यागका साथ दिल्ली शरण लिन पुगेका थिए । दिल्लीमा राजा, राणा र काङ्ग्रेसबिच त्रिपक्षीय सम्झौता भयो । त्यससँगै २००७ फागुन ७ गते १०४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भयो । र, देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो ।
त्यसपछि बनेको सरकारमा कांग्रेसको नेतृत्व गरेका बीपी सामेल हुन गए । उनी गृहमन्त्री बनेका थिए । तर, राणाहरूसँगको द्वन्द्वका कारण बीपीले छोटो समयमा नै राजीनामा थिए । त्यसको केही समयभित्रमा नै राणा–काङ्ग्रेसको सरकार ढल्यो । त्यसपछि दरबार र भारतको साथ पाएका मातृका २००८ मंसिर १ मा प्रधानमन्त्री नियुक्त भए । तर, बीपी समूहले मातृका सरकारलाई सहयोग गरेन । उता प्रजातन्त्र स्थापना भएसँगै राजा त्रिभुवनले दुई वर्षभित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए । तर अनेकौं बहानामा चुनाव सार्ने काम भयो । अनि त्यस्तैमा भारतीय हस्तक्षेप, डा. केआई सिंहको विद्रोहजस्ता कारणले दाइभाइबीच अर्थात् बिपी–मातृका विवाद बढ्दै गएको थियो ।
तर, त्यहीँ विवादकै बीच २००९ जेठ १०–१३ मा काङ्ग्रेसले आफ्नो पाँचौं महाधिवेशन गर्यो । जुन नेपाल भित्र भएको पहिलो काङ्ग्रेसको महाधिवेसन समेत थियो । उक्त महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि पार्टीले २००९ साउन ८ मा मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर पार्टीले भनेको नमानेका कारण उनी सहित अन्यलाई पार्टीले कारवाही ग¥यो ।
त्यसैबीच साउन १० गते मातृकासहित नारदमुनि थुलुङ, महावीरशमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा थिए । त्यसलगत्तै भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गरे । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गरे । मातृका आफैंले पार्टीबाट कारबाही भोगेको १० महिनापछि २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’को स्थापना गरे ।
२०५९ को दोस्रो विभाजन
दोस्रो विभाजनको कारण २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । कांग्रेसभित्र कलह चुलिँदै गएको समय २०५७ साल माघ ९ मा कास्कीको पोखरामा काङ्ग्रेसको दशौं महाधिवेशन भयो । यो महाधिवेशनले केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखेको थियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन गरिएको थियो ।
सभापतिका लागि भने गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए । कोइराला र जोशी दोस्रो पटक प्रतिस्श्पर्धा गर्दै थिए भने देउवा पहिलो पटक उम्मेदवार थिए । त्यसमा फेरि गिरिजाप्रसाद कोइराला सभापतिमा चुनिएका थिए । तर, त्यस महाधिवेशनको वर्षपछि नै काङ्ग्रेस टुक्रियो । देउवा प्रधानमन्त्री बनेका बेला माओवादी दबाबउनका लागि संकटकाल लगाइएको थियो । संकटकालको अवधि थप्ने विषयमा कांग्रेसमा विवाद चर्कियो ।
त्यो विवादका बीच पार्टीले सहमति नदिँदा पनि देउवाले जबर्जस्ती गरे । संकटकालको अवधि थपे । यही कारण विवाद बढेपछि कांग्रेस विभाजन तर्फ गयो । २०५९ असार ५ गते त्यो समयमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरेको थियो । त्यस भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो । त्यसरी शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेसँगै कांग्रेस अर्को विभाजन भएको थियो ।
२०८२ को तेस्रो विभाजन
यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा सभापति शेरबहादुर देउवा सहमत नहुँदा विशेष महाधिवेशन बोलाएकै नाममा पार्टी विभाजित भएको हो । पर्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले आब्हान गरेको विशेष महाधिवेशनको एजेण्डालाई पार्टी नेतृत्वले ग्रहण गर्न नसक्दाको परिणाम नेताहरुबीच एकले अर्कोलाई कारबाही गर्ने स्थिति बन्यो ।
यसअघि २०१४ सालमा तत्कालीन सभापति सुवर्ण शम्शेरले नै विशेष महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कांग्रेसको इतिहासमा यो दोस्रो विशेष महाधिवेशन हो । यो विशेष महाधिवेशन बहुमत महाधिवेशन प्रतिनिधिहरूले नै आब्हान गरेका हुन । केवल यसको नेतृत्व गगन र विश्वले गर्दा प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे, प्रतिमा गौतम, देवराज चालिसे, अजयबाबु शिवाकोटी, मनोजमर्णि आचार्य, सुवास पोखरेलसहितका नेताहरुले गरे ।
महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ । विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गर्दै यो अभियानको नेतृत्वगर्ने नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । यो सँगै कांग्रेस दुई चिरा पारेको हो । पार्टीको आधिकारीकताको विषय निर्वाचन आयोग हुदै अदालत सम्म पुग्ने देखिन्छ ।
