सुर्दशन दाहाल
सामाजिक सञ्जालमा कसैलाई ’भ्रष्ट’ लेखिदिनु भनेको अदालतको फैसला जस्तै मानिन थालेको छ। लाइक र सेयर नै प्रमाण बनेका छन्।उखानै छ “जहाँ हुल लाग्छ, त्यहाँ बुद्धि भाग्छ।“ लोकप्रियतावादको सबैभन्दा खतरनाक पक्ष के हो भने, यसले नागरिकलाई सजग होइन, उत्तेजित समर्थक बनाउँछ। प्रश्न गर्ने चेतना होइन, ताली बजाउने आदत विकास गराउँछ।
रवि लामिछाने कुनै मिथक होइनन्, न त पूर्ण खलनायक नै। उनी कमजोरीसहितका मान्छे हुन् र यही मानवीय अपूर्णताले उनलाई जनआकर्षणको केन्द्र बनाएको छ, कसैका लागि मिथक बनेर त कसैका लागि खलनायक बनेर वा भनम कहिले भगवान बनेर त कहिले राक्षस । तर रवि लामिछाने जन्मँदै मिथक बनेका होइनन । न त उनी स्वभावैले खलनायक हुन् ।
उनलाई मिथक बनाउने पनि हामी नै हौं, र खलनायक बनाउने पनि हामी नै। फरक यति मात्र हो कि मिथक बनाउँदा हामी आशाले अन्धा थियौँ, खलनायक बनाउँदा आक्रोशले। यहि शून्यमा रवि लामिछाने उभिए। नागरिकले उनलाई नेता भन्दा पहिले उद्धारकर्ताका रूपमा हेरे। संस्थाप्रतिको विश्वास घट्दा व्यक्ति देवता बन्ने यही क्षण बन्न पुग्यो। यस अर्थमा रविलाई मिथक बनाउने पहिलो शक्ति स्वयं निराश नागरिक चेतना नै हो।
दोस्रो शक्ति सामाजिक सञ्जाल हो। आजको समय विचारभन्दा भ्युजको बनेकोछ । संयमभन्दा उग्रता, तर्कभन्दा आवेग र गहिराइभन्दा भाइरल सामग्री बढी प्रभावशाली हुन्छ। यही एल्गोरिदमले रविलाई “सिस्टम हल्लाउने पात्र“ र “एक्लो योद्धा” को रूपमा निर्माण गर्यो। यहाँ नीति होइन, पोस्टको रिचले नैतिकता तय गर्यो।
तेस्रो र सबैभन्दा संवेदनशील पक्ष हामी आफैं हौं। हामीले संस्था खोजेनौँ, व्यक्ति खोज्यौँ। प्रक्रिया होइन, छिटो परिणाम खोज्यौँ। “कसरी सुधार हुन्छ?” भन्ने प्रश्नभन्दा “कसले सबै ठीक पार्छ?“ भन्ने प्रश्न हाबी भयो। यही अधैर्य चेतनाले रविलाई मिथक बनायो।
तर मिथक कहिल्यै स्थायी हुँदैन। जब प्रचार र वास्तविकताबीच दूरी बढ्छ, जब कानूनी प्रक्रिया नाराजस्तै छिटो हुँदैन, जब एक व्यक्तिले सबै समस्याको समाधान गर्न सक्दैन, त्यही भीड निराश हुन्छ। निराशा जब क्रोधमा बदलिन्छ, मिथक खलनायक बन्छ।
यहीँ अर्को सत्य पनि स्वीकार गर्नुपर्छ।
रविलाई खलनायक बनाउने काम केवल भीडले मात्र होइन, पुराना राजनीतिक शक्तिहरूले पनि गरिरहेका छन्। आलोचना लोकतन्त्रको आत्मा हो, तर पूर्वाग्रही विरोध लोकतन्त्रको रोग। रविको हरेक कदमलाई नियतकै आधारमा गलत ठहर गर्नु, सुधारका सम्भावनालाई समेत षड्यन्त्र ठान्नु, यो पनि जिम्मेवार राजनीति होइन। पुरानो प्रणालीले आफ्ना असफलता ढाक्न नयाँ पात्रलाई मात्र दोषी देखाउनु आत्मसमीक्षा होइन, आत्मरक्षा हो।
रवि लामिछानेका केही अभिव्यक्तिहरू सुन्दा लाग्छ राज्य होइन, भीड नै अदालत हो; कानून होइन, आवेग नै फैसला।“म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छु” जस्ता वाक्यहरू राजनीतिक जोशका लागि त उपयोगी होलान्, तर सामाजिक चेतनाका लागि भने विषजस्तै हुन्।
किनकि यस्तो भाषाले न्याय होइन, प्रतिशोध जन्माउँछ। यही बिन्दुमा आजको राजनीतिक संकट गहिरिँदै गएको छ। ’भ्रष्ट’ को परिभाषा कसले तय गर्छ? भीडको आवेगले? सामाजिक सञ्जालको ट्रेन्डले? वा राजनीतिक स्वार्थले? यदि भ्रष्टाचारको अभियोग पुष्टि गर्न कानूनी प्रक्रिया अनावश्यक ठानियो भने, भोलि त्यो आगो निर्दोषमाथि पनि सल्किन सक्छ। हिंसा र तोडफोडलाई नैतिकता प्रदान गर्ने भाष्य खतरनाक हुन्छ, किनकि त्यो अन्ततः अराजकतामा परिणत हुन्छ।
नेपालमा आज विचार होइन, भ्यूजले सत्य निर्धारण गर्छ। नीति होइन, पोस्टको रिचले नैतिकता तय गर्छ। यहीँबाट लोकप्रियतावाद जन्मिन्छ, जहाँ सही र गलतको मापन सामाजिक सञ्जालको एल्गोरिदमले गर्छ, संविधानले होइन। यही बिन्दुमा एउटा असहज तर अनिवार्य प्रश्न उभिन्छ, हामी किन बारम्बार व्यक्तिमा नै समाधान खोजिरहेका छौं? किन संस्था, प्रक्रिया र दीर्घकालीन सुधारभन्दा हामी तुरुन्तै उद्धारकर्ता खोज्छौँ? यसको उत्तर हाम्रो अधैर्य चेतनामा छ। लोकतन्त्र धैर्यको अभ्यास हो, जहाँ न्याय नाराबाट होइन, प्रमाण र प्रक्रियाबाट जन्मिन्छ।
यदि हरेक असफलतामा नयाँ ’नायक’ खोज्ने बानी बद्लिएन भने, व्यक्ति फेरिन्छ, तर संकट उस्तै रहन्छ। लोकप्रियतावादले तत्काल उत्साह त दिन्छ, तर दीर्घकालीन रूपमा यसले नागरिकलाई सचेत होइन, निर्भर बनाउँछ। यही निर्भरता लोकतन्त्रको सबैभन्दा मौन तर गहिरो संकट हो। सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम हो, न्यायको अदालत होइन भन्ने बुझाइ स्थापित हुनुपर्छ। यदि हामीले संस्थागत सुधारलाई प्राथमिकता दिएनौँ भने, हरेक नयाँ पात्र केही समयको लागि आशा बन्छ, र अन्ततः निराशा।
उखान छ ः “आगोले आगो निभ्दैन, खरानी मात्रै बढ्छ।“ भ्रष्टाचारको आगो भीडको आगोले निभ्छ भन्ने भ्रम खतरनाक छ। आज भ्रष्ट भनी औंला ठड्याइने व्यक्ति भोलि निर्दोष पनि हुन सक्छ। तर एकपटक भीड उन्मत्त भयो भने, प्रमाणभन्दा पहिले दण्ड दिइन्छ। रवि लामिछानेको भाषण शैली यही भीड मनोविज्ञानमा आधारित देखिन्छ। कानूनको प्रक्रिया लामो र जटिल हुन्छ; भीडको न्याय छिटो र क्रूर। लोकप्रियतावाद सधैं छिटो नतिजा बेच्ने व्यापार हो, तर त्यसको मूल्य हरेक पटक समाजले तिर्नुपर्छ ।
दृष्टान्त हेरौं ः एउटा गाउँमा चोर पक्रन भनेर भीड उत्रियो। प्रमाण खोजिएन, बयान सुनिएन। अन्ततः चोर अर्कै निस्कियो, तर कुटाइ खाने मान्छे मरेको थियो। गाउँलेहरू भन्छन् “गल्ती भयो।” तर मृतक फर्किंदैन। यही हो भीड न्यायको अन्तिम परिणाम । आज नेपालमा पनि यही प्रवृत्ति मौलाउँदैछ। सामाजिक सञ्जालमा कसैलाई ’भ्रष्ट’ लेखिदिनु भनेको अदालतको फैसला जस्तै मानिन थालेको छ। लाइक र सेयर नै प्रमाण बनेका छन्।उखानै छ “जहाँ हुल लाग्छ, त्यहाँ बुद्धि भाग्छ।“ लोकप्रियतावादको सबैभन्दा खतरनाक पक्ष के हो भने, यसले नागरिकलाई सजग होइन, उत्तेजित समर्थक बनाउँछ। प्रश्न गर्ने चेतना होइन, ताली बजाउने आदत विकास गराउँछ।
नेता सोच्दैन, फेसबुक पोस्ट बनाउँछ। जनता पढ्दैन, रिल हेर्छ। राजनीति दर्शन होइन, तमासा बन्छ। आज कुलमान, बालेन, रवि सबै प्रतीक बनेका छन्। तर प्रतीकले राज्य चल्दैन।
राज्य चल्छ संस्थाबाट, नियमबाट र उत्तरदायित्वबाट। जब व्यक्तिलाई नै अन्तिम सत्य ठानिन्छ, तब लोकतन्त्र कमजोर हुन्छ। सबैभन्दा खतरनाक पक्ष के हो भने, हामी हिंसा र तोडफोडप्रति क्रमशः संवेदनशीलता गुमाउँदैछौँ। व्यापार जलेपछि रोइन्छ, तर त्यसअघि त्यसलाई जायज ठहर गर्ने भाषा प्रयोग गरिन्छ। यही द्वैध चरित्रले समाजलाई नैतिक संकटतर्फ धकेल्छ। रवि लामिछाने स्वयं यो प्रणालीको उत्पादन पनि हुन् र प्रयोगकर्ता पनि। उनका कमजोरीभन्दा खतरनाक कुरा उनको भाषिक उग्रता हो, जसले हिंसा, तोडफोड र अराजकतालाई नैतिक आवरण दिन्छ। आज “महल जलाउने“ कुरा रूपक हो भनेर बचाउ गरिन्छ, भोलि कसैले साँच्चै आगो लगायो भने दोष कसले लिने?
उखान सम्झन लायक छ
“जिब्रोको चोट, खुकुरीको चोटभन्दा गहिरो हुन्छ।“
लोकतन्त्रमा आवेग होइन, विवेक चाहिन्छ। क्रान्ति नाराले मात्र होइन, संस्थागत सुधारले सफल हुन्छ। यदि सामाजिक चेतना ’ट्रेन्ड’मा चल्न थाल्यो भने, भोलि ट्रेन्ड बद्लिँदा सत्य पनि बद्लिन्छ, तर क्षति स्थायी हुन्छ। राम्रो कामको समर्थन गर्दा कसैलाई अपमानित गर्न आवश्यक छैन। गलत कामको विरोध गर्दा हिंसा र नकारात्मकता फैलाउनु अनिवार्य हुँदैन। यही सन्तुलन नै परिपक्व लोकतन्त्रको चिन्ह हो। रवि लामिछाने न त सबै समस्याको समाधान हुन्, न सबै समस्याको कारण। उनी यो संक्रमणकालीन राजनीतिका एउटा पात्र मात्र हुन्। आज उनको स्थानमा अर्को आए पनि, चेतना बदलिएन भने कथा फेरि दोहोरिन्छ। यसैले आजको प्रश्न रवि लामिछाने सही वा गलत भन्ने होइन। आजको प्रश्न यो हो कि हामी नागरिक हौं कि भीड? प्रश्न हाम्रो नागरिक चेतनाको हो।
हामी व्यक्ति पूजा गर्ने समाज बन्छौं कि प्रक्रिया सम्मान गर्ने? हामी विवेकले चल्छौं कि एल्गोरिदमले? हामी आलोचना गछौँ कि घृणा फैलाउँछौं? यो रविविरुद्धको वक्तव्य होइन, न कसैको पक्षमा गरिएको प्रश्तुती । यो त केवल चेतनाको ऐना हो, जहाँ हामीले आफ्नै प्रतिबिम्ब हेर्न सक्नुपर्छ, सिक्नुपर्छ।
किनकि अन्ततः, कानून बिना न्याय सम्भव छैन, र विवेक बिना आन्दोलन। अनि राज्य ढाल्न भीड काफी हुन्छ, तर राज्य बनाउन चेतना खाँचो पर्छ । लोकतन्त्रलाई देवता होइन, जिम्मेवार नागरिक चाहिन्छ।
