काठमाडौं, १ जेठ ।
संविधान संशोधनको विषयमा छलफलमा गर्न प्रधानमन्त्री कार्यालयले बोलाएको बैठकमा जेन-जी अगुवाइहरू नजाने निर्णय गरेका छन् ।
जेन-जी अगुवा उपार्जुन चाम्लिङका अनुसार संविधान संशाेधनको ड्राफ्ट बनाउन गठित कार्यदलले शुक्रबार सिंहदरबारमा छलफलका बोलाएको थियो ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले दुई वटा छुट्टाछुट्टै पत्रमार्फत २९ जना प्रतिनिधिलाई बोलाएको हो ।
तर, स्पष्ट विषयवस्तु नखुलाइ ‘कर्मकाण्ड’ का लागि मात्रै बोलाइएको भन्दै बिहीबार रातिसम्मको छलफलले जेन-जी अगुवाहरू सिंहदरबार नजाने निर्णय गरेका हुन् ।
कार्यदलले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा छलफल कार्यक्रम तय गरेको छ । सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संसोधनका लागि ड्राफ्ट बनाउने कार्यदल गठन गरेको छ ।
साे कार्यदलले दलका प्रतिनिधि, संविधानविद, पत्रकारलगायतसँग सुझाव लिइसकेको छ । अन्तिममा जेन–जी अगुवसँग सुझाव माग गर्न शुक्रबार बोलाइए पनि उनीहरूले नजाने निर्णय गरेका हुन् ।
