काठमाडौं, १ जेठ । कांग्रेस क्रियाशील सदस्यता जेठ २१ भित्र अद्यावधिक गर्न पत्रचार
नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेसलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यका साथ समितिले सदस्यता अभिलेखीकरणका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएको छ । जसअनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत ‘स्वयं सदस्यता आवेदन फारम’ भरी विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अद्यावधिक गर्ने क्रममा कुनै समस्या आएमा सदस्यहरूले ९७०१२५५५५५ मा सम्पर्क गरी ‘एआई साथी’ मार्फत सहयोग लिन सक्नेछन् ।
यसका साथै, केन्द्रीय कार्यालयले डिजिटल सहायता केन्द्रका लागि ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरहरू उपलब्ध गराएको छ । सदस्यहरूले ९७०१२५५५५५ मा सम्पर्क गरी सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै पनि आफ्नो अद्यावधिक फारम भर्न सक्ने सुविधा मिलाइएको छ । यो व्यवस्था स्वदेशमा रहेका सदस्यहरूका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि लागू हुने पार्टीले जनाएको छ ।
बैठकले पार्टी विधानको व्यवस्थाअनुसार सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिहरू १५ औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ । तसर्थ, तोकिएको समयावधि भित्रै आफ्ना विवरणहरू अद्यावधिक गर्न र गराउन मातहतका सबै तहलाई निर्देशन दिइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।