काठमाडौं, १ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशीहरुको रुचि र योजना अनुसारको सरकार बनाउन खोजिए जनताको वलमा टिक्नै नदिइने घोषणा गरेका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा विहिबार आयोजित कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन् । २१ फागुनको निर्वाचन नजिकिदैं गएका बेला विदेशी चलखेल बढेकोतर्फ प्रष्ट संकेत गर्दै ओलीले विदेशी रुचिको सरकार बन्न नदिने र बनेकै अबस्थामा पनि टिक्न नदिइने बताए । ‘हामी नेपालमा नेपाली सरकार बनाउन चाहान्छौं अरु(विदेशी)को होइन ।
अरु(विदेशी)को सरकार बन्यो भने ढाल्छौं, फाल्छौं ।’ ओलीले भने । रास्वपाका अध्यक्ष रवी लामिछानेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धि मुद्दाको अभियोग फिर्ता लिने निर्णयले महान्यायाधिवक्ताको कार्यालय ईतिहासमै कलंकित बनेको टिप्पणी गर्दै ओलीले जनताको करोडौं पैसा हिनामिना कसले तिर्छ भन्दै गम्भीर प्रश्न पनि उठाए । ‘अब कसैलाई कुनै कानुन लाग्दैन, मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि मजाले खान पाइन्छ ।
हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने पनि माफी मिनाह हुन्छ, अभियोग परिवर्तन गरिन्छ, फेरिन्छ, अभियोगबाट बरि गरिन्छ । उसैलाई चुनावमा हिरो बनाएर सारिन्छ । महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय बनेको छ’ आक्रोशित हुँदै ओलीले प्रश्न उठाए,‘डिम्बको कारोबार यसो बिर्सिऊँ भन्यो, फेरि अर्को काण्ड । अर्को काण्ड बिर्सिऊँ भन्यो, फेरि अर्को काण्ड । अहिले अभियोग परिवर्तनको काण्ड, मुद्दा फिर्ता काण्ड ।
दुनियाको हिनामिना भएको पैसा कसले तिर्छ ? के महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? अब देश कहाँ पुग्यो ?’ देश अहिले जसको लाठी उसको भैँसी जस्तो शासनको अबस्थाबाट गुज्रिरहेको उनको भनाई थियो । उनले सामाजिक संजालमार्फत समाज र देशमा अराजकता फैलाउन तथा नकारात्मक फैलाउन कसैले अनेक छौंडा खेलाइरहेको बताए । विदेशी नोट बोकेर बालेन झापा पुगेको आरोप ओलीले नेपाली जनताले नचिन्ने विदेशी नोट लिएर काठमाडौंका मेयर बालेन्द्र शाह आफूसँग चुनाव लड्न झापा पुगेको आरोप पनि लगाए ।
‘कोही कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर ताामझाम गरेर हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रहरुमा । यी त हामीले झेलिरहेकै छौं’ ओलीले भने,‘हामी प्रतिक्रियावादी शक्तिका मायादयाले यहाँ आएका होइनौं, धेरै संघर्ष गरेर जित्दै यहाँसम्म आएका हौं, हामी हार्दैनौं नेपाल र नेपालीले हार्दैन, किनभने नेकपा एमाले यस देशमा छ, त्यसैले सबै प्रकारका ठगहरु, लुसिफरहरुले धेरै धाक नलगाउँदा हुन्छ ।’
सरकार अपदस्थ गर्नेदेखि देश जलाउने, सिंहदरबार, संसद भनव जलाउनेहरुले गर्वका साथ विध्वंसको जिम्मा लिइरहेको भन्दै ओलीले संसद भवनदेखि नेताको आवास, पार्टी कार्यालयहरु, प्रदेश कार्यालय, स्थानीय तहका कार्यलयदेखि उद्यमी, व्यसायीका भवनहरु जिम्मा लिनेहरुले कहिले बनाउछन् भन्दै प्रश्न गरे ।
एमाले विभाजन सफल भएन, कांग्रेसमा सफल भयो ओलीले कांग्रेसलाई जस्तै एमालेलाई पनि फेरि विभाजन गर्न खोजिए पनि सफल नभएको धारणा पनि राखे । ‘कांग्रेसमा अहिले जे भइरहेको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर हल्लाहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई अहिले बलजफ्ती निष्काशन भनेका छन् नि, त्यस्तै हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए, कारवाही हुनुपर्छ, जिम्मेवार हुनुपर्छ यो अनुहार अगाडि लगाएर हिँड्न सकिदैंन भनेकै थिए ।’ ओलीले भने ।
