काठमाडौं २ माघ।
सुरक्षा तथा विपद् व्यवस्थापनसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको भन्दै विज्ञहरूले यस क्षेत्रमा सरकार र समुदाय दुवैको महत्वपूर्ण भूमिका हुने बताएका छन्। अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्द प्रसाद थापाले सशस्त्र प्रहरी बल नेपालले समुदायस्तरमै तालिम, अनुशिक्षण तथा समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गरेका छन्।
नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले दत्तचित्त भएर कार्य गर्दै आएको उल्लेख गर्दै भविष्यमा नेपाली भूमि अतिक्रमण हुन नदिन आवश्यक भौतिक पूर्वाधार र आधुनिक डिजिटल प्रविधिसहित सशस्त्र प्रहरी बललाई अझ व्यवस्थित र विशिष्टीकृत गर्नुपर्नेमा जोड दिए।
नापी विभागका अर्का पूर्व महानिर्देशक तोयानाथ बरालले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको परिचालनबारे कानूनी स्पष्टता आवश्यक रहेको बताउँदै सीमा सुरक्षा सम्बन्धी खोज, अनुसन्धान, प्रविधिमैत्री अभ्यास तथा क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे।
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमसँगै नियमित गोष्ठी सञ्चालन गर्नुपर्ने तथा सीमा क्षेत्र विकास कार्यक्रमका लागि सरकारले नै आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले फिल्डमा उत्कृष्ट कार्य गर्दै आएको बताउँदै नापी विभाग र सशस्त्र प्रहरी बलबीच आपसी सहकार्य प्रभावकारी रहेको उल्लेख गरे। उनले सीमा व्यवस्थापनलाई थप मजबुत बनाउन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्टहरूको संख्या बढाउनुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद वलीले आधुनिक प्रविधिको प्रयोगसहित सीमा सुरक्षामा परिचालित फौजको संख्या वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे।
सशस्त्र प्रहरी बल गठन आयोगका अध्यक्ष तथा पूर्व सचिव खेमराज रेग्मीले सुरक्षा निकायहरू राष्ट्रिय आवश्यकता र गौरवको प्रतीक भएको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षामा अतुलनीय योगदान पुर्याउँदै आएको बताए। उनले समय–समयमा देखिएका कमीकमजोरीहरू स्वीकार गर्दै सुधारका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
सुरक्षाविद् गेजा शर्मा वाग्लेले आधुनिकीकरणसँगै चुनौती र अवसर दुवै सिर्जना भएको बताउँदै सुरक्षा संयन्त्रलाई सुदृढ बनाइ नीति, रणनीति र कार्ययोजनासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
अवकाश प्राप्त रथी सदिप बहादुर शाहले देश र जनताको सुरक्षा अनिवार्य आवश्यकता भएको बताउँदै शान्ति सुरक्षाको प्रभावकारिताका लागि सुरक्षा निकायबीच संयुक्त अप्रेशनल अभ्यास आवश्यक रहेको धारणा राखे।
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले आन्तरिक तथा बाह्य सुरक्षामा समयसापेक्ष रणनीतिसहित विशेष सुरक्षा योजनाअनुसार परिचालन हुनुपर्ने बताए।
अवकाश प्राप्त उपरथी टंकप्रसाद भट्टले संवेदनशील सुरक्षा विषयमा स्पष्ट राष्ट्रिय सुरक्षा ऐन आवश्यक रहेको बताए भने अवकाश प्राप्त उपरथी पूर्ण सिलवालले इन्टेलिजेन्स र प्रविधिको प्रयोगसँगै सुरक्षा निकायबीच युनिफाइड कमाण्ड अवधारणा फिल्डमा प्रभावकारी हुने उल्लेख गरेका छन्।
यसैक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले नविनतम् सुरक्षा चुनौतीको सन्दर्भमा राष्ट्रले सुरक्षा निकायका पूर्व कर्मचारीहरूको अनुभव र क्षमतालाई सदुपयोग गर्नुपर्ने धारणा राखे।
अन्तरक्रिया कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू रविराज थापा, सुवोधकुमार अधिकारी, राजेश श्रेष्ठ, परराष्ट्र, गृह तथा अर्थ मन्त्रालयका सह–सचिवहरू, डा. नरेश रिमाल, सह–प्राध्यापक डा. पिताम्बर भण्डारी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता, डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
