काठमाडौं, ३ माघ ।
नेपाली कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई गत आइतबार साँझपख सम्बोधन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी र देश बदल्ने सङ्कल्प गरे। शुक्रबार साँझ निर्वाचन आयोगले त्यो अभिभारा सुम्पिएको छ । गगन र विश्वले यस्तो अभिव्यक्ति दिदै गर्दा रूपान्तरित कांग्रेसको सङ्कल्प गरिरहँदा संस्थापन पक्षबाट विद्रोह गरी ३० जना केन्द्रीय सदस्य पनि सहभागी भए। पूर्व महामन्त्री तथा पूर्व सभामुख रहेका तारानाथ रानाभाटदेखि लामो समय शेरबहादुर देउवा क्याम्प रहेका गोपालमान श्रेष्ठ पनि सहभागी भएर विशेष महाधिवेशनलाई अनुमोदन गरिदिए।
देश बदल्न आफू बद्लिन र कांग्रेस बदल्न सक्ने गगन थापा र विश्व प्रकाश शर्माको सङ्कल्प थियो।
गगन–विश्व, नेपाली कांग्रेस पार्टीका महामन्त्री हुन्। उनीहरुले महामन्त्रीमा चुनाव जित्दै गर्दा कांग्रेसका नवजवानमा एक प्रकारको आशा र भरोसा पैदा भएको थियो। २०७८ मंसिरको अन्तिम साता भएको कांग्रेसको १४ औं महाधिवेशनको मत परिणाम भने पुस १ गते सार्वजनिक हुँदा त्यतिबेला थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका थिए।
खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरेका थिए। यसरी हेर्दा कांग्रेसलाई परिवर्तन गर्ने र नयाँ पुस्तामा नेतृत्व ल्याउने अभिभार उनीहरूको काँधमा चार वर्ष आइसकेको थियो।
उनीहरु विद्यार्थी कालबाटै नेताका रुपमा उदाएका थिए। विद्यार्थी राजनीतिबाट उदाएका उनीहरुले पार्टी राजनीतिक यात्रा मार्फत् नेपाली समाज रूपान्तरण महत्त्वपूर्ण अभिभारा यो विशेष महाधिवेशनपछि आएको छ।
उनीहरूको नेतृत्वमा कांग्रेसले युवा पुस्तासँगको सम्बन्धलाई बलियो बनाउन र सामाजिक–आर्थिक परिवर्तनका लागि ठोस कदम चाल्न खोजेको छ। साथै, शेरबहादुर देउवालाई सम्मानजनक बर्हिगमनको बाटो खोलेर त्यहाँ रहेका नेताहरुलाई पनि सहभागी गराई पार्टीलाई बलियो बनाउने जिम्मेवारी उनीहरूको काँधमा आएको छ।
गगन–विश्वको सहयात्राले कांग्रेस बलियो बनाउने मात्र होइन, समाजमा समानता, न्याय र समृद्धि ल्याउने भूमिकामा उनीहरु अघि बढ्नुपर्नेछ।
उनीहरुले कांग्रेसलाई एक सशक्त र समृद्ध पार्टीको रूपमा बनाउने योजना मात्र होइन देशको विकासमा कांग्रेसको अग्रसरता रहनेछ भन्ने विश्वास कार्यकर्ता र जनतालाई दिलाउने जिम्मेवारी पनि उनीहरूको काँधमा आइलागेको छ।
विशेष महाधिवेशनमा सम्बोधन गर्नेक्रममा संथापन पक्षबाट आएकी पुष्पा भुसालले भनेझैँ विशेष महाधिवेशनले नयाँ नीतिसँग अगाडि बढाउनु पर्ने र कांग्रेस गुटबाट मुक्त हुनुपर्ने तथा राजनीतिक हिंसाबाट मुक्त र कृपाबाट अलग हुन्छ भन्ने सन्देश पनि दिन जरुरी देखिन्छ।
गगन विश्वको सहयात्राले जेन–जी आन्दोलनले उठाएको नैतिक प्रश्न, नेतृत्वको उत्तरदायित्व र संस्थागत सुधारको मागलाई पनि सम्बोधन गर्नुपर्नेछ।
लोकतन्त्रको नाममा पार्टी कब्जा गर्ने, पार्टीलाई प्राधिकार जस्तो बनाउने, मुलुक नै तीन वटा नेताको वरीपरी घुमाउने जस्ता गतिविधिहरू लोकतन्त्रकै उपहास हुन् भन्ने पक्षलाई आगामी दिनमा सुधार गर्नुपर्ने जिम्मेवारी उनीहरुले यहीबाट संकल्प गर्नुपर्नेछ । यो सङ्कल्पपछि कांग्रेस व्यूझिने मात्र होइन अन्य प्रतिस्पर्धी दलमा पार्टी कब्जाको नीति रणनीति बनाउनेहरुले पनि सोच्नुपर्ने दिन नजिक आउनेछ।
