काठमाडौं, ५ माघ । एमाले हुँदै माओवादीको मूल प्रवहामा पुगेका शीर्ष तहका सबै नेताहरुले प्रत्यक्षतर्फको टिकट लिएका छन् । झलनाथ खनाल, वामदेव गौतम, प्रकाश ज्वाला, गंगालाल तुलाधरसहित केही अपवाद बाहेक शीर्ष तहका सबै नेताहरुले टिकट पाएका हुन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारका निम्ति नेकपाले टुंगो लगाएका नाममा तत्कालीन एकीकृत समाजवादी (एस) समूहका केही ‘हाईप्रोफाइल’ बाहिरिएका छन् । तर, तत्कालीन एसका अध्यक्ष तथा हाल नेकपाका सहसंयोजक माधव नेपालको सघन समूहका प्रायः उम्मेदवार बनेका छन् ।
झलनाथ खनाल, वामदेव गौतम, भानुभक्त जोशी, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, बेदुराम भुसाल, जगन्नाथ खतिवडा लगायतका नेताले प्रत्यक्ष तर्फको उम्मेदवारी पाएनन् । खनालले उपयुक्त क्षेत्र नपाएर, गौतमले बर्दियामा थारु क्लष्टर नमिलाइएको भन्दै उम्मेदवारी अस्वीकार गरे । जोशी, ज्वाला, कुँवर, भुसाल, खतिवडासहितका नेताको प्रत्यक्षमा उम्मेदवारीको चाहना थियो । यद्यपि, उनीहरुको नाम उम्मेदवारी सूचीमा छैन । तर, सोमप्रसाद पाण्डेय पाल्पा– २ को उम्मेदवारीमा परेका छन् ।
लामो समयदेखि नेपालको स्वकीय सचिवालयमा काम गर्दै आएका भाञ्जा नितेस पौडेल काठमाडौंको क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने सूचीमा परेका छन् । उनको सचिवालय व्यवस्थापन गर्दै आएका अर्का नेता रामकुमार भट्टराई रौतहटबाट उम्मदेवार सूचीमा छन् । राजनीतिक रुपमा खासै परिचित नभए पनि उक्त समूहबाट काठमाडौंको क्षेत्र नं. १ बाट मेनका भण्डारी (कृतु) उम्मेदवार बन्ने सूचीमा परेकी छन् ।
यसअघि समानुपातिक तर्फको बन्दसूचीमा नेपालको सघन समूहका नेता प्रमेश हमाल, ताज मोहम्मद मियाँ, दीलकुमारी (दिलु) पन्तसहितका नेता करिव करिव सुरक्षित साथ सूचीवद्ध भइसकेका छन् । हमाल खस–आर्य पुरुषको पहिलो नम्बरमा, मियाँ मुस्लिम पुरुषको पहिलो र पन्त खस–आर्य महिलातर्फ दोस्रो नम्बरमा उक्त सूचीमा राखिएका छन् । नेपालसँग अलग्गै निकटता नभएका, तर विभिन्न कारणले समानुपातिकमा नाम राखिनुपर्ने उषा पोखरेल, भगवती नेपालजस्ता पुराना नेता सूचीको क्रम संख्यामा पछाडि छन् ।
उम्मेदवारीबाट बाहिरिएका नेता झलनाथ खनाल पक्षका अशेष घिमिरे (झापा– १) बाहेक अरु नेता पनि उम्मेदवारीमा परेका छैनन् । उनी पक्षका नेता केशव विष्टले सुनसरी–३ बाट पाएको उम्मेदवारी अस्वीकार गरेका छन् । वामदेव गौतम स्वयं उम्मेदवारीबाट बाहिरिएका छन्, उनीपक्षीय नेता पनि उम्मेदवारीमा देखिँदैनन् ।
उक्त समूहले कोशी प्रदेशबाट पाएको ६ उम्मेदवारमध्ये सुनसरीका विष्ट बाहिरिँदा अब ५ मात्र छन् । झापा– १ का घिमिरेसहित संखुवासभाकी सरिता खड्का थापा, सुनसरी– ४ का मोहम्मद महफुज अन्सारी, उदयपुरका बलदेव चौधरी तत्कालीन एससम्वद्ध हुन् ।
मधेसमा धनुषा– २ का रामचन्द्र झा, रौतहट– १ बाट स्वयं सहसंयोजक नेपाल, ४ बाट रामकुमार भट्टराई, पर्सा– २ का मनोज चौधरी तत्कालीन एस समूहका हुन् । बागमती प्रदेशमा सिन्धुली– १ बाट उम्मेदवारी पाएका डेकेन्द्र सुवेदी तत्कालीन एससम्वद्ध समाजवादी कानून व्यवसायी संगठनका अध्यक्ष हुन् । धादिङ– १ बाट राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार हुने भएका छन् । काभ्रे– ख २ बाट बसुन्धरा हुमागाईं उम्मेदवार बन्ने सूचीमा छन् । काठमाडौं– ७ को उम्मेदवार सूचीमा रहेका वसन्तप्रसाद मानन्धर पनि तत्कालीन एस समूहका हुन् ।
गुल्मी– २ मा उम्मेदवारी पाएका श्रीराम महत, बाँके–३ मा दिपक जिएम, डोल्पाबाट धनबहादुर बुढा, दैलेखको १ र २ मा क्रमशः अम्बरबहादुर थापा र यागेन्द्र शाही पनि तत्कालीन नेकपा एसका हुन् ।
सुदूरपश्चिममा कैलाली– ५ बाट प्रेमबहादुर आले, कञ्चनपुर– २ का माधव पन्त र बैतडीका उम्मेदवार परमानन्द भट्ट तत्कालीन एसका हुन् । अछाम– १ बाट उम्मेदवार बन्ने भीमबहादुर रावल र बाजुराका प्रकाशबहादुर शाह रावल पूर्वएमाले, तर नेकपा एस हुँदै एकतामा सामेल भएका हैनन् । एमाले हुँदै माओवादीमा पुगेका नेताहरुलाई माधव नेपालबाहेक अरुलाई खासै उपलब्धी देखिएको छैन ।
