राधकृष्ण देउजा
सबैभन्दा महत्वपूर्ण कुरा त के भने आफ्नो राजनीतिक जीवनको सम्पूर्ण समय झापाकै जनताको साथ लिएर बढदै आएको केपी ओली जसको हैसियत आनी बानि सबै झापाली जनतालाइ सबैभन्दा राम्रोसँग थाहा छ अनि तिनले केपी ओलीको चारित्रिक प्रमाणपत्र अरु कसैले तयार पारको पत्याउनु पर्ने ? त्यस्तो पनि होला त ? पक्कै नहोला र हुनुहुँदैन ।
नेपाली जनताले पाँच वर्षको लागि निर्वाचित गरेको संसदलाइ असामयिक रुपमा विघटन गर्ने काम गर्दाको दिनदेखि उहाँ पछिल्लो पटक प्रधानमन्त्री पदमा वहाल रहेको भाद्र २४ गते सम्म म केपी ओलीको जमेर आलोचना गर्दै आएको मानिस हो । उहाँले सरकारदेखि पार्टी संचालन सम्म गरेका अन्यायपूर्ण , अराजनीतिक र असंवैधानिक कामहरुको जमेर आलोचना गरको छु र ति मेरा लेखाइ र भानाइहरु दस्तावेजको रुपमा सार्वजनिक नै छन । आफुले लेखेर बोलेर केपी ओलीलाई लगाएको आरोपहरु प्रति आज पनि उत्तिकै दृढ छु तर मैले यो पनि बुझेको छु कि आलोचना वा समर्थन दुवै निरपेक्ष हैन सापेक्ष हुनुपर्छ ।
त्यो न्यायोचित र तथ्यमा आधारित हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण ती निजि आग्रह पूर्वाग्रह बाट प्रेरित हुनुहुदैन । हो, त्यही मान्यतामा टेकेर हिजो गरिएका आलोचनाहरु प्रति दृढ रहँदै आजको दिनमा भने उहाँलाइ झापा ५ का जनताले जिताउनु पर्छ भन्ने बुझाई र जिताउनेछन भन्ने विश्वास साझा गर्न चाहन्छु । यो पनि निरपेक्ष भएर हैन सापेक्ष भएर र त्यसका लागि म निम्न कारणहरु प्रस्तुत गर्छुः

१. केपी ओलीले देश सोचे जस्तो ढंगले चलाउनु भएन तर देश जलाउने काम पनि गर्नु भएन । तर आज यदि केपी ओलीले चुनाव हार्नु भयो भने उहाँलाइ गलत समयमा, गलत नियतले , गलत व्यक्तिहरुले लगाएको गलत आरोप ठिक थियो भन्ने गलत सन्देश जान्छ जसले गर्दा अन्जानमै झापाली जनतालाई भोलिसम्म चाहर्याईरहने घाउ लाग्नेछ । मलाई लाग्दैन झापाली जनता ग्लानीको पीडा बोक्न तयार छन ? त्यसो हुँदा उनीहरु आज सहि निर्णय लिएर भोलि त्यसप्रति गर्व गछन भन्ने ठान्छु ।
२. मैले चिनेको जानेको केपी ओली ( विगतको है आजकल मेरो सम्पर्क छैन ) जाहाँसुकै जस्तोसुकै अवस्थामा हुँदा पनि झापाको कोही मान्छे आएको थाहा पाउने वित्तिकै भेटन बोल्न र उनीहरुको समस्या केही भएमा समाधान खोज्न लागेको स्वयमले देखेको छु । त्यसको मतलव यदि झापाली जनताले उहाँलाइ मत नदिने हो भने त त्यो कृतज्ञता नभई कृतघ्नता हुन्छ र मलाई झापाली जनता कृतघ्न छन् भन्ने लाग्दैन ।
३. कतिपयले अहिले उहाँलाइ भाद्र २३ गते भएको नरसंहारको दोषी करार गर्न खोज्दैछन र यदि अहिले उहाँले परजाय सहनु पर्यो भने उहाँलाइ लगाइएको त्यो आरोप झापाली जनताले अनुमोदन गरे भन्ने हुन्छ । तर के झापाली जनताले पटक पटक जिताएको केपी ओली नरसंहारकारी हो त ? पक्कै नहुनु पर्ने हो । उहाँ आफु स्वयम गृहमन्त्री रहँदा कहीं कतै गोलि हान्ने काम नभएको देखि तत्कालिन माओवादीको हिंसा र आतंकलाइ समेत दुत्कारेको केपी ओली देखेको जोकोहिले पनि त्यस्ता कलिला युवा युवतीलाइ गोली हान्न आदेश दिए होलान भन्ने मान्न सक्दैन ।
अब कहीं कतै स्वतन्त्र छानविन हुन सकेछ र उहाँ दोषी देखिनु भएमा माफी मागौंला र उहाँलाइ कारवाहीको माग गरौँला तर कमसेकम अहिलेलाई उहाँलाइ जवर्जस्ती नरसंहारकारी करार गर्ने खेलको विपक्षमै रहनु उचित हुन्छ । त्यसैले एउटा गलत आरोप बल पुर्वक कसैले लगाउने अनि झापा ५ ले त्यसलाइ सदर गर्ने भन्ने विषय कल्पना गर्न सायद गलत मै होला तै पनि भन्छु झापा ५ अन्यायको कारक बन्न हुँदैन ।
४. अनि कतिपयले झापा ५ मा उहाँसंग चुनावी मैदानमा आएका पात्रले पनि आफुलाइ प्रधानमन्त्री बन्ने दावी गर्दै रहेकोले गर्दा केपी ओली हराएर युवा जिताउने भनेको पनि सुनिन्छ , पढिन्छ । हो निर्वाचनको समयको प्रतिष्पर्धा भुलेर देश चलाउन सबै एक हुनुपर्ने सिद्धान्त र विगतका परम्परा अनुसार सवै दलका मुख्य नेताहरु जित्नु एकदम उचित र आवश्यक हो तर यदी कोहि सिङ्ग थापेर , मज्जा लिने हेतु कुनै प्रमुख दलको नेतासग आफैं भिडन जान्छ भने त्यतिबेला त उनलाई मज्जा दिन केपी ओली वा अरु कोहीले हार्नुपर्छ भन्ने हुन्छ त ? झापा ५ का जनताले कोहि कसैको लहड पुरा गरिदिनु पर्ने हो त ? त्यो त पक्कै हैन । प्रधानमन्त्री हुन्छु भन्नेले त आजको प्रतिष्पर्धाले भोलिको सहकार्यको ढोका बन्द राख्नु हुँदैन भन्ने ज्ञान राख्नु पर्दैन ?
५. सबैभन्दा महत्वपूर्ण कुरा त के भने आफ्नो राजनीतिक जीवनको सम्पूर्ण समय झापाकै जनताको साथ लिएर बढदै आएको केपी ओली जसको हैसियत आनी बानि सबै झापाली जनतालाइ सबैभन्दा राम्रोसँग थाहा छ अनि तिनले केपी ओलीको चारित्रिक प्रमाणपत्र अरु कसैले तयार पारको पत्याउनु पर्ने ? त्यस्तो पनि होला त ? पक्कै नहोला र हुनुहुँदैन । केपी ओली के हुन, कसो हुन भन्ने त झापालीले भन्ने र अरुले मान्ने पो सहि तरिका होला नि । आजसम्म हुँदै आएको पनि त त्यही त हो ।
यद्धपि उल्लेखित कुराहरु मैले झापाका जनतालाइ सम्झाउन वा बुझाउन नभई झापाका जनताहरुको सुझवुझपूर्ण व्यवहार र न्यायपूर्ण निर्णय गर्ने उनीहरुको सत्यता अन्यत्र बस्ने सबैलाइ हेक्का होस भन्ने हेतु लेखेको हो । मलाई झापा ५ का जनता कृतज्ञ छन कृतघ्न छैनन भन्ने लाग्छ ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
