काठमाडौ, १२ माघ।
काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७३ रनले पराजित भएको छ। यस हारसँगै नेपालले विश्वकपमा स्थान बनाउने यात्रा समाप्त भएको छ।
सोमबार त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै अलआउट हुँदै ६८ रनमै सीमित भयो। नेपालको तर्फबाट रोमा थापा १४ रन बनाउँदै नटआउट रहिन्। ओपनर बिन्दु रावलले १४ रन बनाइन् भने अर्की ओपनर सम्झना खड्का ७ रनमा आउट भइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो। स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक ४५ रन जोडिन्।
नेपालका बलरमध्ये मनीषा उपाध्यायले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् भने रुबिन क्षेत्रीले ३ विकेट हात पारिन्। त्यस्तै सीता राना मगर, कविता जोशी र रिया शर्मा ले समान १–१ विकेट लिए।
