काठमाडौ, १२ माघ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। धर्मराज तिमिल्सीनाले साहका सार्वजनिक अभिव्यक्ति ‘घृणात्मक, भ्रामक र मानहानिकारक’ रहेको दाबी गर्दै ती अभिव्यक्तिले लोकतान्त्रिक निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने आरोप लगाएका छन्।
सोमबार निर्वाचन आयोग, कान्तिपथमा पेश गरिएको निवेदनमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भ उल्लेख गर्दै साहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको भनिएको छ।
निवेदनमा साहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख छ।
‘यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउँछन्,’ निवेदनमा भनिएको छ, ‘यसले लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने जोखिम बढाउँछ।’
निवेदनमा नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराइएको छ। ती अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भए कारबाही गर्न आयोगसँग माग गरिएको छ।
यसैगरी, महोत्तरीलगायतका क्षेत्रमा रास्वपाले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै उक्त कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। सो विषयमा पनि सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ।
निवेदक तिमिल्सीनाले निर्वाचन अवधिमा यस्ता घृणात्मक, भ्रामक र अपुष्ट आरोप दोहोरिन नदिन स्पष्ट निर्देशन जारी गर्न तथा लोकतान्त्रिक बहसलाई तथ्य, नीति र कार्यक्रममै सीमित राख्ने वातावरण निर्माण गर्न आयोगसँग अनुरोध गरेका छन्।
