काठमाडौं, १२ माघ ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनसका लागि दलहरु मतदाताको दैलोमा मत माग्न व्यस्त रहँदा पूर्वराजा ज्ञानेन्द्र शाह मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित जानकी मन्दिर दर्शन गरेका छन् । परिवारसहित आइतबार जनकपुरधाम पुगेका पूर्व राजा शाह मिथिला यात्री निवासमा बास बसेर सोमबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक दर्शन केन्द्रित रहेको बताएका छन् । मन्दिर ध्यान गर्ने स्थान हो भन्दै उनी पत्रकारहरुको जिज्ञासामा यती बोल्दै समर्थकहरुको सद्भाव गर्न व्यस्त भएका थिए । उनी पारिवारसहित तीन बजे जानकी मन्दिर दर्शनका लागि पुग्दा समर्थकहरूको ठूलो भिड लागेको थियो ।
मन्दिर प्राङ्गणमा समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘राजा हाम्रो साँझा’ सहितको नारा लगाउँदै जयजकार गरेका थिए ।
जानकी मन्दिरबाट पैदल करिब दुई सय मिटरको दूरीमा रहेको राम मन्दिर र राजदेवी मन्दिरसमेत पुगेका पूर्वराजाको आगमनमा स्वागतका लागि बिहानैदेखि समर्थकहरू तयारीमा जुटेका थिए । पुर्व राजा शाहसहितका सदस्यलाई जानकी मन्दिरमा महन्थ र साधुसन्ध तथा राम मन्दिरमा युवा कमिटिका युवाहरुले स्वागत गरेका थिए ।

परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजा–पाठ गरेका छन् । पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,‘यो नितान्त धार्मिक यात्रा हो, अरु केही होइन ।’
यात्राका क्रममा हिन्दुवादी संघ–संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूको ठूलो भिड थियो । पूर्वराजाको उज्यालो अनुहार समर्थकहरुको सद्भाव ग्रहण गरिरहेको थियो । उनी मुस्कुराउँदै केही समर्थकहरुको कुरा रोकिएर सुनिरहेका थिए ।
यसअघि माघ ४ गते पूर्व युवराज पारस शाह पनि जनकपुरधाम आएर मिथिला यात्री निवासमै बास बसेका थिए । त्यो दिन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह(बालेन) पनि सोही होटलमा बास बसेका थिए ।
आसन्न निर्वाचनको संघारमा पूर्व राजा, युवराज र राजपरिवारको जनकपुरधाम केन्द्रित सघन आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


