काठमाडौँ, २३ माघ । चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई पठाउने भएको छ । चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक भएको काम गरिसकेका चाङ फागुनको पहिलो हप्तातिर नेपाल आइपुग्ने बताइएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले चाङको नियुक्तिका लागि नेपाल सरकारलाई बुझाएको एग्रिमो स्वीकृत भइसकेको र अबको एक हप्ताभित्र नेपाल आइपुग्छन् । चाङ नयाँ वर्ष मनाएर मात्र नेपाल जाने तयारीमा भए पनि नेपालमा भइरहेको चुनाव र बदलिँदा भूराजनीतिका कारण चाँडै आउन लागेको स्रोतले जनाएको छ ।
हाल, तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएका छन् । नेपाली राजनीतिमा त्यसले व्यापक चर्चा पाएको छ । चीनले त्यसमा सरकार समक्ष असन्तुष्टि जनाएको कुरा पनि बाहिर आएको छ ।
यस अवस्थामा नव नियुक्त राजदूत चाङलाई चाँडै पठाएको बताइएको छ । तीन वर्षको कार्यकाल पूरा गरी चिनियाँ राजदूत चेन सोङ चीन फर्किसकेपछि त्यो ठाउँमा चाङ आउन लागेका हुन् ।
नयाँ राजदूत चाङलाई नेपाल मामिलाको जानकार मानिन्छ । उनी नेपालका लागि नयाँ होइनन् उनी विभिन्न समयमा नेपालको भ्रमण गरिसकेका छन् । नेपालीमा भएको उच्चस्तरीय भेटघाटमा उनी पटक–पटक संलग्न भइसकेका छन् ।
