काठमाडौं, २५ माघ । फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मधेशका संवेदनशील जिल्लामा सुरक्षा अनुगमन अधिकृत खटाएको छ ।
एकजना एसएसपीले विभिन्न जिल्लाको सुरक्षा अनुगमन गर्ने गरी उक्त जिम्मेवारी दिइएको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ ।
त्यसक्रममा धनुषा, महोत्तरी र सर्लाहीमा कमल थापा, सिराहा र सप्तरीमा भीमबहादुर दाहाल, बारा, पर्सा र रौतहटमा शान्तिराज कोइराला खटिएका छन् ।
उनीहरुले सम्बन्धित जिल्ला प्रहरी नेतृत्वसँग समन्वय गर्दै निर्वाचन लीक्षत सुरक्षा योजना बनाउने र कार्यान्वयनको स्थितिलाई नियमित रुपमा अनुगमन गर्ने प्रहरीस्रोतले बतायो ।
मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा २१६० मतदानस्थल र ४४७१ मतदान केन्द्र तोकिएका छन् । त्यसमध्ये प्रहरी प्रधान कार्यालयको टोलीले १०२३ मतदानस्थललाई ‘अति संवेदनशील’ र ७६३ लाई ‘संवेदनशील’ ठहर गरेको छ । प्रदेशभर ३६ लाखभन्दा बढी मतदाता छन् ।
