काठमाडौँ, २८ माघ।
राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राप्त जिम्मेवारी पूरा गरी सुशासन कायम गर्नेतर्फ आयोगको ध्यान जानुपर्ने बताए ।
उनले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी राज्यका अधिकार प्राप्त निकायबाट कामकारबाही हुनुपर्ने धारणा व्यक्त गरे । “अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो”, उनले भने, “तर आज आत्मसन्तुष्ट हुने समय होइन, आयोगले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हँुदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने म अझै खाँचो देखिरहेको छु ।”
