काठमाडौ ७ फागुन।
साहित्यकार तथा भाषाविद् मुकुन्दशरण उपाध्यायलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार–२०८२ प्रदान गरिने भएको छ। भाषा–साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
साहित्यकार तथा समाजसेवी स्वर्गीय हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले हालै बसेको बैठकमार्फत उपाध्यायलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि नगद एक लाख रुपैयाँ तथा ताम्रपत्र रहेको छ।
पुरस्कृत प्रतिभा उपाध्यायका ‘वरदान’, ‘प्राकृत पोखरा’, ‘धर्ती र आकाश’, ‘महाभारत सूक्तिसुधा’ लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। उनकाे ‘प्राकृत पोखरा’ कृतिले प्रतिष्ठित मदन पुरस्कारसमेत प्राप्त गरेको थियो।
प्रतिभा छनोटका लागि महाकाव्यकार माधव वियोगीको संयोजकत्वमा हरिदेवी कोइराला र कृष्ण पौडेल सदस्य रहेको छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा प्रतिष्ठानले अन्तिम निर्णय गरेको हो।
संयोजक वियोगीका अनुसार नेपाली भाषाको मौलिक पहिचान, स्पष्ट मानकीकरण र अभियानमार्फत् भाषा–साहित्य प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएकाले उपाध्यायलाई पुरस्कृत गर्न सिफारिस गरिएको हो। प्रतिष्ठानले प्रत्येक वर्ष राष्ट्रिय स्तरमा व्यक्ति तथा संस्थालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि यो पुरस्कार सत्यमोहन जोशी, सरूभक्त श्रेष्ठ, लोककवि अली मियाँ (मरणोपरान्त), विमल स्मृति पुस्तकालय, साहित्य सन्ध्या, सिर्जना साहित्य सदन, राप्ती साहित्य परिषद् तथा झरना साहित्य परिवारलगायतले प्राप्त गरिसकेका छन्।
