गण्डकी, ८ फागुन।
प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छिन्। आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन्।
नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन्। आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो ।
“विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ”, प्रधानमन्त्री कार्कीले भनिन्।
