राैतहट, १० फागुन ।
रौतहटको जिल्ला सदरमुकाम गौरमा पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहट ले आज बिहान ८:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो।
हिजो दिउँसो १:०० बजेदेखि लागू गरिएको कर्फ्युलाई आज बिहान केही समयका लागि खुकुलो पारिए पनि अवस्था पूर्ण रूपमा सामान्य नभएकाले पुनः निरन्तरता दिइएको प्रशासनले जनाएको छ। गौर नगरपालिका–६ सवगढा गाउँमा दुई पक्षबीच भएको झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन यो निर्णय गरिएको हो।
सर्वसाधारणलाई अत्यावश्यक कामकाजका लागि आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टा कर्फ्यु खुकुलो पारिएको थियो। निर्धारित समय सकिएसँगै कर्फ्यु पुनः लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्।
कर्फ्यु अवधिभर घरबाहिर निस्कन, भेला हुन, सभा–जुलुस गर्न तथा कुनै पनि प्रकारका प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रशासनले कर्फ्यु क्षेत्रसमेत निर्धारण गरेको छ। जसअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र आवतजावत गर्न निषेध गरिएको छ।
