काठमाडौं, १७ फागुन । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमकमा पुगेका छन् । उनी आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने भएका छन्।
ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन् । ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।
फुङलिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु अघि भट्टराईले शनिबार बिहान एक भिडियो सन्देश जारी गर्दै नेकपा एमालेमार्फत सिङ्गो देशको विजयका लागि सानातिना कुरालाई थाँती राखेर एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन्। भिडियो सन्देशमा उनले पार्टीभित्र अनेकौं विमति, अन्तरद्वन्द्व र अन्तरविरोध भएपनि ति अन्तरविरोधलाई छताछुल्ल पार्ने बेला अहिले नभएको बताएका छन्। ‘हामी एकताबद्ध भएर अघि बढेमा मात्र सिङ्गो देशले जित्ने छ, त्यो जित नै एमालेको जित हो,’ उनले कार्यकर्ताहरूलाई आश्वान दिएका छन्।

उनले पार्टी र उम्मेदवारलाई मतदाताले गरिरहेका प्रश्न, दिएका राय सुझाव, आलोचना र टिप्पणीप्रति सम्मान व्यक्त गर्दै आम मतदाता र नेपालीले उठाएका जायज टिप्पणी र आलोचनाहरुलाई सुधार गर्दै आगामी दिनमा एक बलियो राष्ट्र शक्तिको रूपमा पार्टीलाई जुरुक्क उठाउने दाबी समेत गरे।एमालेमाथि देशभक्तिको सवालमा कुनै प्रश्न नरहेको दाबी गर्दै भट्टराईले हिमाल, पहाड, तराई र मधेसलाई बलियो राष्ट्रवादको अभियानमा सामेल गराउँदै सामाजिक सद्भाव, विकास र समृद्धिको अभियानमा एमालेले नेतृत्व गरेका सरकारले थुप्रै गतिशील काम गरेको बताए।
उनले सुशासनका सन्दर्भमा परिचालित हुनुपर्ने निकायहरूलाई उचित र प्रभावकारी ढंगले परिचालित गर्न नसक्दा आएका समस्या समाधानका लागि एमाले नेतृत्वको आगामी सरकारले प्रभावकारी काम गर्ने बताए।
राज्यलाई आम जनताको पहुँचसम्म पु¥याउन, जनतामा लोक कल्याणकारी काम अघि बढाउन, शान्ति प्रकृया व्यवस्थापन गर्न एमाले नेतृत्वको भएका सकारात्मक कार्य अहिलेपनि प्रशंसा गर्न लायक रहेको बताए।
भट्टराईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायलाई थप निष्पक्ष बताउँदै अनुसन्धानको दायरा समेत फराकिलो बनाउनुपर्नेमा जोड दिए। राष्ट्र, राष्ट्रिय स्वाभिमान, देश विकास र समृद्धिसहितको कामका लागि आउँदो निर्वाचमा एमाले उम्मेदवारले जित्नुको विकल्प नरहेको उनको भनाइ छ।
