टीकापुर, फागुन १७ ।
निर्वाचन आउन केही दिन बाँकी हुँदा कैलाली क्षेत्र नं. १ को उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले सांसद भत्ता सबै शैक्षिक क्षेत्रका खर्च गर्ने बताएका छन् । उनले आफू सक्षम भएर राजनीतिमा आएकाले सांसद भत्ता आफूले नलिई शैक्षिक क्षेत्रमा खर्त गर्ने बताएका हुन् । ‘सांसद जितेमा त्यसवाफत पाउने भत्ता र पारिश्रमिक गरिब परिवारको शिक्षामा खर्च गर्नेछु यो मेरो प्रतिबद्धता भो । एक रुपैया पनि मेरो खल्तीमा जानेछैन, सचिवालयमा जानेछैन’, उनले भने ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेकपा एमालेका युवा उम्मेदवार न्यौपानेले स्थानीय विकास,रोजगारी सिर्जना, सुशासन, शिक्षा–स्वास्थ्य सुधार र जनउत्तर दायित्वलाई प्रमुख एजेन्डा बताएका छन् । नेपाल चर्चाको विशेष कुराकानीमा उनले न्यौपानेले कैलाली–१ का नागरिकले वर्षौंदेखि भोग्दै आएका समस्या अझै समाधान हुन नसकेको उल्लेख गरे । ‘कैलाली–१ ले प्रतिनिधि त पायो, तर आवाज पाउन सकेन,अब संसद्मा यो क्षेत्रको मुद्दा मजबुत रूपमा उठाउने समय आएको छ, त्यसका लागि म सक्षम छु,’ न्यौपानले भने ।
उनले कैलाली–१ को भौगोलिक, सामाजिक र आर्थिक अवस्थालाई विशेष रूपमा समेटेर लैजाने समेत बताए । सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा अझै नागरिकको अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै न्यौपानेले प्रतिनिधि सभामा पुगेर संघीय सरकारबाट क्षेत्रका लागि पर्याप्त बजेट र योजना ल्याउने प्रतिबद्धता समेत जनाए ।

रोजगारी सिर्जनालाई मैले प्राथमिकता दिएको छु, कैलाली–१ का ठूलो संख्यामा युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जान बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गरिनेछ । कृषि आधुनिकीकरण, स्थानीय उत्पादनमा आधारित उद्योग, थारू तथा स्थानीय संस्कृतिमा आधारित पर्यटन प्रवद्र्धनमार्फत रोजगारी बढाइनेछ’, उनले भने ।
शिक्षा क्षेत्रको सुधारलाईविशेष प्राथमिकता राखेको पनि उनको भनाई छ । ‘कैलाली–१ का सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र युवालाई सीपमूलक तालिम प्रदान गर्ने नीति छ । यहाँका युवाले पढाइपछि बेरोजगार बस्न नपर्ने वातावरण बनाउनु मेरो मुख्य लक्ष्य हो’, उनले भने। यस्तै ग्रामीण तथा सीमान्तकृत बस्तीमा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पु¥याइने प्रतिबद्धता जनाइएका छन् । ‘ स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति,दक्ष स्वास्थ्यकर्मीको व्यवस्था तथा विपन्न वर्गका लागि निःशुल्क उपचारको दायरा विस्तार गर्ने योजना छ’, उनले भने ।

यसैगरी सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए । ‘प्रतिनिधि सभामा पुगेर पारदर्शी कानुन निर्माण, सार्वजनिक खर्चमा कडा निगरानी र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न पहल गरिनेछ । कैलाली–१ का नागरिकको करको पैसा सही ठाउँमा खर्च हुनुपर्छ । महिला, दलित, थारू समुदाय, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको हक–अधिकार सुनिश्चित गर्न संसद्मा निरन्तर आवाज उठाइने छ। समावेशी विकास, सामाजिक न्याय र समान अवसरलाई व्यवहारमा उतार्नेछु’, उनले भने ।

