काठमाडौं, २२ फागुन । मधेशवादी दलहरुलाई आफ्नै भूमिमा अस्तित्व रक्षाको संकट परेको छ । मधेशको राजनीतिमा हावी हुँदै आएका मधेशकेन्द्रित दलहरूलाई अहिलेको चुनाव चर्को परेका कारण संकट भएको हो । २०६४ को मधेश आन्दोलनको जगमा उनीहरूले आफ्नो जनमत बलियो बनाएका थिए । त्यही जनमनका आधारमा मधेश प्रदेशमा वर्चश्व राख्दै आएका मधेशकेन्द्रित दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीलाई अहिलेको चुनाव चर्को बनेको छ । उनीहरूलाई अहिले जनमत जोगाउन सकस परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै बालेन शाहको क्रेजले मधेशमा अरुको जनमत कमजोर बनाएको देखिएका छ । मधेशमा रास्वपाको चुनाव चिह्न घण्टी र बालेन शाहको प्रभाव निकै बलियो बनेको थियो । त्यो प्रभाव मतदानमा प्रकट भएको देखिएको छ । मधेशमा प्रभावशाली रहेका नेताहरू उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेतालाई चुनावी प्रतिस्पर्धामा चुनौती थपिएको छ ।
अघिल्लो चुनावबाट उदाएको जनमत पार्टी पनि अहिले थप समस्यामा परेको छ । पछिल्ला दिनमा उसको घट्दो क्रेजमा बालेन शाहको प्रभावले झन समस्यामा पारेको देखिन्छ । मधेशमा पछिल्ला दिनमा मधेशकेन्द्रित दलहरूको प्रभाव स्वाभाविक रूपमा घट्दो थियो । अघिल्लो चुनावमा मधेशमा एमालेको प्रभाव बढेको थियो । कांग्रेसको विरासत जोडिएको मधेश प्रदेशका योपटक सभापति गगन थापा नै चुनावी मैदानमा ओर्लिएका थिए । त्यसले कांग्रेसजनमा उत्साह थपेको थियो । तर, त्यो उत्साहित मतमा भने प्रकट भएको देखिएको छैन । कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि नै रास्वपाका उम्मेदवार मनिष झाभन्दा धेरै पछाडि परेका छन् ।
झा मात्र होइन, धनुषाका अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अघि रहेका छन् । बारा– ३ मा रास्वपाका रहबर अन्सारी, महोत्तरी– ३ मा उज्जलकुमार झा, महोत्तरी– ४ मा गौरी कुमारी, सिरहा– १ मा बब्लु गुप्ता सर्लाही– १ मा नीतिमा कार्की पर्सा– ३ मा रामाकान्त चौरसिया, सप्तरी– ४ मा सीताराम साह, पर्सा– २ मा शम्भुकुमार यादव, सप्तरी– ४ मा पुष्पा चौधरीलगायतले अग्रता लिएका छन् ।
अहिलेसम्म उनीहरूलाई पछ्याउनेमा अन्य दलका उम्मेदवार देखिएका छन् । मधेश प्रदेशमा भइरहेको मतगणनाका क्षेत्रमध्ये रौतहट– ३ मा गोविन्द चौधरी मात्रै जसपा नेपालबाट अग्रता लिइरहेका छन् । जनमत पार्टीबाट भने अहिलेसम्म कसैले पनि अग्रता लिएका छैनन् ।
