निर्वाचन घोषणा भएसँगै देश राजनीतिक रूपमा निकै संवेदनशील मोडमा पुगेको थियो । पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र नयाँ पुस्ताका युवाहरूको परिवर्तनमुखी आग्रहबीचको टकरावले राजनीतिक वातावरणलाई थप जटिल बनाएको थियो । भ्रष्टाचार, बेरोजगारी र कमजोर शासनप्रति जनआक्रोश चुलिँदै गएकाले चुनावी वातावरण स्वाभाविक रूपमा संवेदनशील बनेको थियो ।
जेन-जी आन्दोलनपछि घोषित आम निर्वाचन अन्ततः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । असन्तुष्टि र आशङ्का मिश्रित राजनीतिक परिवेशका बीच सम्पन्न भएको यो निर्वाचन नेपालका लागि महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा देखिएको छ । संकटमा परेका भनिएका पुराना राजनीतिक दलदेखि नयाँ राजनीतिक शक्तिसम्मले चुनावी प्रतिस्पर्धामा भाग लिए । सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजको समुच्च प्रयासले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुन सक्नु आफैंमा सकारात्मक संकेत हो । यसले चुनौतीपूर्ण परिस्थितिमा पनि लोकतान्त्रिक प्रक्रिया अघि बढाउन सक्ने राज्य र समाजको क्षमता देखाएको छ ।
निर्वाचन घोषणा भएसँगै देश राजनीतिक रूपमा निकै संवेदनशील मोडमा पुगेको थियो । पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र नयाँ पुस्ताका युवाहरूको परिवर्तनमुखी आग्रहबीचको टकरावले राजनीतिक वातावरणलाई थप जटिल बनाएको थियो । भ्रष्टाचार, बेरोजगारी र कमजोर शासनप्रति जनआक्रोश चुलिँदै गएकाले चुनावी वातावरण स्वाभाविक रूपमा संवेदनशील बनेको थियो । यही कारण देशभरका धेरै मतदान केन्द्रहरूलाई संवेदनशील र अति संवेदनशील वर्गमा राख्नुपरेको थियो । नेपालको दुर्गम भूगोल, राजनीतिक अविश्वास र सुरक्षा व्यवस्थापनका चुनौतीहरूले निर्वाचनलाई थप कठिन बनाएका थिए ।
यस्ता चुनौतीबीच राज्य संयन्त्रले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्यो । मतदान केन्द्रको तयारी, कर्मचारी प्रशिक्षण, मतदान सामग्रीको समयमै ढुवानी र दुर्गम क्षेत्रसम्म समन्वयमार्फत व्यवस्थापन जस्ता कार्यहरू व्यवस्थित रूपमा सम्पन्न गरिए । साथै मतदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरियो । यी प्रयासहरूले मतदातालाई सचेत बनाउँदै चुनावी वातावरण निर्माण गर्न सहयोग पुर्याए ।
देशभरका धेरै मतदान केन्द्रहरूलाई संवेदनशील र अति संवेदनशील वर्गमा राख्नुपरेको थियो । नेपालको दुर्गम भूगोल, राजनीतिक अविश्वास र सुरक्षा व्यवस्थापनका चुनौतीहरूले निर्वाचनलाई थप कठिन बनाएका थिए ।
निर्वाचन प्रक्रियामा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीचको संवाद र सहकार्य पनि महत्वपूर्ण पक्ष रह्यो । आचारसंहिता पालना, सम्भावित विवाद समाधान र सहमतिको अभ्यासले चुनावलाई तुलनात्मक रूपमा शान्तिपूर्ण बनाउने वातावरण सिर्जना गर्यो । फलतः निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । यसले राज्यका संस्थाहरूले जटिल परिस्थितिमा पनि लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन सक्ने क्षमता रहेको सन्देश दिएको छ ।
यस निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको परिवर्तनको पक्षमा देखिएको जनलहर हो । कसले जित्यो वा हार्यो भन्ने भन्दा पनि देशले हार्नु हुँदैन भन्ने हो । यसको सन्देश मतदाताले परिवर्तनको अपेक्षा व्यक्त गर्नु नै उल्लेखनीय पक्ष हो । लोकतन्त्रको मूल आधार जनमत नै हो भन्ने तथ्य यस निर्वाचनले फेरि एकपटक स्पष्ट पारेको छ । नागरिकले असन्तुष्टि वा समर्थन दुवैलाई मतमार्फत व्यक्त गर्न सक्ने लोकतान्त्रिक अभ्यासलाई यसले थप सुदृढ बनाएको छ । अब कसैले कसैलाई दोष लगाउनु भन्दा पनि राम्रो काम गरेर जनमत जित्नतिर लाग्नु श्रेयष्कर देखिन्छ ।
तर निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धाको अन्त्य होइन, बरु उत्तरदायी शासनको प्रारम्भ पनि हो । अबको चुनौती जनताको अपेक्षा पूरा गर्ने प्रश्नसँग जोडिएको छ । यदि राजनीतिक दल र सरकार जनआकांक्षा सम्बोधन गर्न असफल भए भने मतदाताले अर्को विकल्प खोज्न सक्नेछन् । यही सम्भावनाले राजनीतिक शक्तिहरूलाई पारदर्शी, जन-उत्तरदायी र परिणाममुखी शासन दिन बाध्य बनाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
लोकतन्त्रलाई स्थायित्व दिन संस्थागत मजबुती अत्यन्त आवश्यक हुन्छ । राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्यको संस्कृति विकास हुन सके मात्र लोकतान्त्रिक व्यवस्था बलियो बन्न सक्छ । यस निर्वाचनले जनमतको शक्ति, जवाफदेही शासनको आवश्यकता, युवाको बढ्दो भूमिका र संस्थागत सुदृढीकरणको महत्त्वबारे महत्वपूर्ण सन्देश दिएको छ । यद्यपि अर्को महत्वपूर्ण प्रश्न सरकारको स्थिरतासँग सम्बन्धित छ ।
यसपटक युवाहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ । परिवर्तन, पारदर्शिता र नयाँ नेतृत्वको माग गर्दै उठेको आवाजले नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेत दिएको छ । तर यस्ता आशाहरू अघिल्ला परिवर्तनहरूजस्तै निराशामा परिणत हुने कि वास्तविक रूपान्तरणको आधार बन्ने भन्ने प्रश्न अझै खुला छ । त्यसको उत्तर आगामी राजनीतिक व्यवहारले दिनेछ ।
लोकतन्त्रलाई स्थायित्व दिन संस्थागत मजबुती अत्यन्त आवश्यक हुन्छ । राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्यको संस्कृति विकास हुन सके मात्र लोकतान्त्रिक व्यवस्था बलियो बन्न सक्छ । यस निर्वाचनले जनमतको शक्ति, जवाफदेही शासनको आवश्यकता, युवाको बढ्दो भूमिका र संस्थागत सुदृढीकरणको महत्त्वबारे महत्वपूर्ण सन्देश दिएको छ । यद्यपि अर्को महत्वपूर्ण प्रश्न सरकारको स्थिरतासँग सम्बन्धित छ । नेपालको इतिहास हेर्दा दुई तिहाई वा बहुमत हुँदा पनि सरकारले पूरा अवधि काम गर्न पाएको थिएन । अब पनि सोही अवस्था आउन सक्छ कि भन्ने चिन्ता स्वाभाविक छ । यदि दलहरूबीच स्पष्ट नीति, साझा कार्यक्रम र सहकार्यको भावना विकास भयो भने स्थिरता सम्भव छ । तर सत्ता भागबण्डा र संकीर्ण राजनीतिक प्रतिस्पर्धा हावी भएमा अस्थिरता दोहोरिने जोखिम पनि उत्तिकै रहन्छ ।
स्थिर र उत्तरदायी शासन स्थापित हुन सके मात्र रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, विधिको शासन, प्रविधिमा फड्को, आर्थिक विकास, शिक्षा र स्वास्थ्य सुधार जस्ता जनअपेक्षाहरू पूरा हुन सक्छन् । यसका लागि राजनीतिक दलहरूको इमानदार प्रतिबद्धता, राज्य संस्थाहरूको प्रभावकारी कार्यान्वयन क्षमता र नागरिकको निरन्तर निगरानी आवश्यक हुन्छ । यहाँ त लोकतन्त्र केवल चुनाव जित्ने प्रक्रियामा सीमित भए जस्तो देखिँदैछ
स्थिर र उत्तरदायी शासन स्थापित हुन सके मात्र रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, विधिको शासन, प्रविधिमा फड्को, आर्थिक विकास, शिक्षा र स्वास्थ्य सुधार जस्ता जनअपेक्षाहरू पूरा हुन सक्छन् । यसका लागि राजनीतिक दलहरूको इमानदार प्रतिबद्धता, राज्य संस्थाहरूको प्रभावकारी कार्यान्वयन क्षमता र नागरिकको निरन्तर निगरानी आवश्यक हुन्छ । यहाँ त लोकतन्त्र केवल चुनाव जित्ने प्रक्रियामा सीमित भए जस्तो देखिँदैछ । लोकतन्त्र सुशासन, पारदर्शिता र जनविश्वास कायम राख्ने निरन्तर अभ्यास हो भन्ने बुझेर अगाडि बढ्नु आवश्यक छ ।
अन्त्यमा,
लोकतन्त्र केवल निर्वाचन सम्पन्न हुनुमा मात्र सीमित हुँदैन । यसको वास्तविक सार जनविश्वास कायम राख्ने शासनमा निहित हुन्छ । यदि राजनीतिक नेतृत्वले जनमतको सन्देश बुझेर उत्तरदायी, पारदर्शी र परिणाममुखी शासन दिन सके मात्र यो निर्वाचन नेपालको लोकतान्त्रिक इतिहासमा परिवर्तनको महत्वपूर्ण मोड बन्न सक्छ । तर यदि सत्ता स्वार्थ, भागबण्डा र अल्पदृष्टि राजनीतिले फेरि हावी भयो भने जनतामा जन्मिएको आशा पुनः निराशामा बदलिन सक्छ । त्यसैले अहिलेको निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको परिणामका रूपमा होइन, लोकतन्त्रलाई व्यवहारमा सार्थक बनाउने आगामी बाटो र अवसरका रूपमा ग्रहण गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
लेखक,साहित्यकार घनबहादुर थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
