जिरी, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहेका बेला नेकपा (एमाले) का उम्मेदवार पार्वत गुरुङ जिरी पुगेर मतदाताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। जिरीबाट नै मतगणना सुरु भएको सन्दर्भमा उहाँले त्यहीँबाट धन्यवाद अभियानको पनि थालनी गर्नुभएको हो।
जिरीमा स्थानीय नागरिक तथा समर्थकहरूसँग भेटघाट गर्दै उहाँले जनताले व्यक्त गरेको मतलाई सम्मान गर्दै सबै मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। यस अवसरमा उहाँले निर्वाचन प्रक्रियामा सहभागी भएका मतदाता, स्वयंसेवक, सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। निर्वाचनको समयमा अहोरात्र खट्ने सम्पुर्ण पार्टी नेता कार्यकर्ताहरुलाई कृतज्ञता व्यक्त गर्नु भयो । चुनावको प्रारम्भिक नतिजा तर्फ इंगित गर्दै कोहि कसैलाई दोषारोपण नगरी परिणामलाई सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति हो। त्यसैले परिणाम जे आए पनि त्यो जनमतलाई हामी सम्मान गर्छौं। निर्वाचन सकिएपछि पनि म सधैं जनतासँगै रहनेछु।” मतगणना चलिरहेकै बेला उम्मेदवार स्वयं जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्नु र जनताको मतलाई सम्मान गर्दै सबैसँगै रहने प्रतिबद्धता व्यक्त गर्नु नयाँ र सकारात्मक राजनीतिक अभ्यास भएको स्थानीयहरूले बताएका छन्।
स्थानीय बासिन्दाले निर्वाचनपछि मात्र नभई परिणाम आउनुअघि नै जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्ने पार्वत गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको भन्दै यसको प्रशंसा गरेका छन्।


