काठमाडौं, २४ फागुन । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको आम निर्वाचनमा पार्टीले भोगेको अनपेक्षित पराजयपछि एमालेभित्र नैतिक जिम्मेवारी लिएर केपी ओलीलाई राजीनामाका लागि दबाब दिने काम
सुरु भएको छ।
एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले आइतबार पदबाट राजीनामा दिने घोषणा गरेर अरुलाई पनि ओलीमाथी दबाब सिर्जनाका लागि प्रेरित गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौतीसमेत दिएका छन् ।
पोखरेलले नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’
पोखरेलले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आ–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने बेला आएको भन्दै पार्टी अध्यक्षदेखि महासचिवसम्मको ध्यानाकर्षण गराएका छन्। ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वकाले बाटो प्रशस्त गर्नुपर्दछ,’ पोखरेलले स्टाटसमा लेखेका छन् ।
