नेकपा एमालेका युवा नेता रोशन बस्नेतले नेतामाथि जनताले किन प्रश्न उठाएका हुन भन्दै १० वटा बुँदामा उल्लेख गरेका छन् । राजनीतिकलाई उत्पादन र व्यवशायसँग जोड्नुपर्छ भन्दै अघि बढिरहेका युवा नेता बस्नेतले उठाएका यी १० वटा बुँदा यहाँ जस्ताको तस्तै राखिएको छ ।
१. आर्थिक स्रोतको प्रश्न
राजनीतिमा आउदा सामान्य आर्थिक अवस्था भएका धेरै नेताहरू केही वर्षमै करोडौको सम्पत्तिका मालिक कसरी बने? त्यो सम्पत्तिको स्रोत के हो ?भन्ने प्रश्न जनताले सोधिरहेका छन ।
२. पेशा वा उत्पादनमूलक काम बिना सम्पन्नता!
न त उद्योग, न व्यापार, न कुनै उत्पादनमूलक पेशा तर जीवनशैली भने उच्च वर्गको जस्तो। यस्तो आर्थिक उकास कसरी सम्भव भयो?
३. राजनीति सेवा कि कमाइको माध्यम?
राजनीति जनसेवाको माध्यम हो भनिन्छ। तर व्यवहारमा धेरै नेताका लागि राजनीति नै सबैभन्दा ठूलो कमाइको माध्यम बनेको हो कि भन्ने शंका बलियो हुदै गएको छ।
४. नैतिकता र आदर्शको क्षय
नेतृत्व भनेको आदर्श र नैतिकताको उदाहरण हुनुपर्छ। तर आज जनताले नेतामा त्यही नैतिक दृढता र आदर्श खोज्दा भेटन गाह्रो भइरहेको छ।
५. नेता र जनताबीच बढदो दूरी
नेताहरू जनताबाटै उठेका हुन, तर समयसगै उनीहरूको जीवनशैली, व्यवहार र प्राथमिकता आम जनताको जीवनभन्दा धेरै टाढा पुगेको देखिन्छ।
६. वर्गीय उत्थानको नारा, व्यक्तिगत उत्थानको व्यवहार
जनताको जीवनस्तर उकास्ने, वर्गीय असमानता घटाउने नारा दिएर राजनीति सुरु गर्नेहरू आफैको जीवनस्तर उकास्नमा मात्रै केन्द्रित भएको आरोप लागिरहेको छ।
७. सत्ता केन्द्रित राजनीति
सिद्धान्त, विचार र जनसेवा भन्दा पनि सत्ता प्राप्ति र सत्तामा टिकिरहने खेलमै धेरै नेताहरू सीमित भएको देखिन्छ।
८. जवाफदेहिता कमजोर
जनताले प्रश्न उठाउदा स्पष्ट उत्तर दिने संस्कृति कमजोर देखिन्छ। जवाफदेहिताको अभावले राजनीति प्रति जनविश्वास घटाएको छ।
९. राजनीतिप्रति जनविश्वासको संकट
यिनै कारणले गर्दा जनता परम्परागत नेतृत्वप्रति निराश बन्दै नयाँ विकल्प खोजेका हुन ।
१०. आत्मसमिक्षा र सुधारको अनिवार्यता
यदि राजनीतिक दल र नेताहरूले जनताको विश्वास पुनः जित्न चाहने हो भने पारदर्शिता, नैतिकता, सादगीपूर्ण जीवनशैली र जनता प्रति उत्तरदायित्व देखाउन अब ढिला गर्नु हुदैन।
