काठमाडौं, ३ चैत । आम निर्वाचनमा एमालेले अहिलेसम्मकै ठूलो क्षती ब्यहोरेपछी पार्टीको भविष्यलाई लिएर प्रभाशाली नेताहरुले विमर्श जारी राखेका छन ।
पार्टीलाई बन्द कोठामा बुनिने षड्यन्त्रबाट नभएर आम कार्यकर्ताको भावना अनुसार चलाउनुपर्ने भन्दै प्रभाशाली नेता सुरेन्द्र पाण्डेले पार्टी पुनर्गठनको नयाँ बिमर्शको आवश्यकता औल्याएका छन ।
पाण्डेले सामाजिक संजालमा लेखेका छन :
पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा?” यो जायज प्रश्न हो। हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औंल्यायौँ ।
ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’ को एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।
अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्छ।
